काठमाडौं, जेठ २१
आईसीसी
टी–२० विश्वकप क्रिकेटमा सहआयोजक वेस्ट इण्डिजले विजयी सुरुआत गरेको छ।
घरेलु मैदान प्रोभिडेन्स स्टेडियम गायनामा आइतबार राति भएको
खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई ५ विकेटले हराउँदै वेष्ट इण्डिजले विजयी सुरुआत
गरेको हो।
पीएनजीले दिएको १ सय ३७ रनको लक्ष्य वेस्ट इण्डिजले १९ ओभरमा
५ विकेट गुमाएर पूरा गर्यो। वेस्ट
इण्डिजका लागि रोस्टन चेसले नटआउट ४२, ब्रान्डन
किंगले ३४, निकोलस पुरनले २७, आन्द्रे रसेलले नटआउट १५ र कप्तान रोभमन
पावेलले पनि १५ रन बनाए।
बलिङतर्फ पीएनजीका लागि कप्तान असद भालाले २ तथा अलेई नाओ र
चाद सोपर र जोन कारिकोले समान १/१ विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पपुवा
न्युगिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३६ रन बनाएको थियो। पीएनजीका लागि सेसे बाउले ५०, किप्लिन डोरिगा ले नटआउट २५, असद भालाले २१ रन‚ चार्ल्स अमिनीले १२ रन र
चाड सोपरले १० रन बनाए।
बलिङतर्फ वेष्ट इण्डिजका आन्द्रे रसेल र अल्जारी जोसेफले २/२
तथा अकिल होसेन‚ रोमारियो सेफर्ड र गुडाकेश मोतीले समान १/१ विकेट लिए।
आइतबार अमेरिकामा भएको उद्घाटन खेलमा घरेलु टोली अमेरिकाले
क्यानडालाई हराउँदै विजयी सुरुआत गरेको थियो।
प्रतियोगिता अन्तरगत आज २ खेल हुनेछन्। बिहान सवा ६ बजे सुरु हुने खेलमा ओमान र
नामिबिया भिड्नेछन्। आजै राति सवा ८ बजे दक्षिण अफ्रिका र श्रीलंका आमने सामने
हुनेछन् ।