म्याग्दी, असार २४
पहिराका कारण अवरुद्ध बनेको
म्याग्दीको बेनी–दरबाङ सडक तीन दिनपछि सञ्चालनमा आएको छ । बेनी नगरपालिका र मङ्गला
गाउँपालिकाको सिमानामा पर्ने फापरखेतमा गत शुक्रबार पहिरो जाँदा सडक अवरुद्ध बनेको
थियो । पहिरोले सडक बगाएपछि २४ किलोमिटर दूरीमा पर्ने जिल्लाको पश्चिमी
भेग धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने उक्त
खण्डमा आवतजावत पूर्ण रुपमा बन्द भएको थियो । बाङ्गे भिर, घुमाउने भिर र
तोराखेतमा गएको पहिरोले सडक अवरुद्ध भएको थियो । पहिरो गएको ठाउँमा
ग्यावीयन पर्खाल र नयाँ ट्र्याक खनेर सडक मर्मत गरेपछि आजदेखि नियमित सञ्चालनमा
आएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा आवतजावत, निर्माण र
खाद्यान्न सामग्री ढुवानीका साथै बिरामीलाई अस्पताल पु¥याउन समस्या भएको
थियो । यसैबीच बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा रहेको
फापरखेत खण्डमा पर्ने बेनी–दरबाङ सडकको वैकल्पिक मार्ग खोजिनुपर्ने म्याग्दीका
प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले जोड दिनुभयो । भौतिक पूर्वाधार
मन्त्रालयसहित सरोकार भएकासँग पहिरोको समस्यालाई दीर्घकालीन समाधान गर्न छलफल भइरहेको
उहाँले बताउनुभयो । फापरखेतको पहिरो समाधानका लागि वैकल्पिक मार्गको व्यवस्था
गरिनुपर्ने सांसद गर्बुजाले बताउनुभयो । सडकदेखि करिब दुई सय मिटरमाथि र एक सय ५०
मिटर फराकिलो क्षेत्रमा पहिरो फैलिएको छ । “यहाँ १८ वर्षअघि सडक खोल्नुपूर्व
पहिरोको जोखिम थियो । पहिरो रोकथामका लागि दीर्घकालीन योजना नहुँदा यस खण्डमा
वर्षायाममा सिधा यातायात सेवा प्रभावित हुने गरेको छ । पश्चिम म्याग्दीमा रहेका
मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाका स्थानीय सदरमुकाम बेनीसम्म पुग्न
वर्षामा जोखिमपूर्ण यात्रा गरिरहेका छन्”, सांसद गर्बुजाले भन्नुभयो ।