स्थानीय वायु र पश्चिमी वायुको प्रभाव,मुलुकका विभिन्न स्थानमा वर्षा

Jhalkonepal

काठमाडाैं , जेठ २६

 नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव देखिएकाे छ । 

त्यसको प्रभावले काठमाडौं उपत्यका लगायत मुलुकका विभिन्न स्थानमा शनिबार विहानसम्म हल्का वर्षा भएको छ। 

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंको बबरमहल आसपास पछिल्लो ३ घन्टामा ७.२ मिलिमिटर वर्षा भएको छ। 

त्यस्तै कीर्तिपुरमा ५.६ मिलिमिटर, बुढानीलकण्ठमा २.४ मिलिमिटर,  नुवाकोटको ककनीमा ३.८ मिलिमिटर वर्षा भएको छ। 

महाशाखाका अनुसार अहिले कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले बुलेटिन जारी गरी जानकारी दिएको छ।

त्यस्तै लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। 

आज राति कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ।

कोशी प्रदेशको थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा राति पनि मेघगर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 


प्रतिक्रिया