सोमबारदेखि सरसफाइ अभियानः सरकारी कार्यालयदेखि देशैभरिका अस्पताल सफा गरिने

Jhalkonepal

काठमाडौं । आगामी सोमबारदेखि सरकारी कार्यालयमा ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सञ्चालन हुने भएको छ।  

सरकारले सोमबारदेखि जेठ १ सम्म सङ्घ, प्रदेश र स्थानीय तहका सबै कार्यालयमा सरसफाइ सप्ताह सुरु गर्न थालेको हो।  

त्यसका लागि सरसफाइ सप्ताह सञ्चालनसम्बन्धी मार्गनिर्देशन २०८३ समेत जारी गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका शाखा अधिकृत सुवर्ण बज्राचार्यले जानकारी दिए।

सबै सरकारी निकाय तथा शैक्षिक संस्थामा स्वच्छ, स्वस्थ र व्यवस्थित वातावरण कायम गर्र्न र सरसफाइसम्बन्धी आचारण विकास गर्न सरसफाइ सप्ताह सञ्चालन गर्न थालिएको उहाँले जानकारी दिए।  

सप्ताह सञ्चालन गर्न सबै सङ्घ, प्रदेश र स्थानीय तहलाई पत्राचार गरिसकेको छ।  

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा सोमबार बिहान ८ः३० बजे वीर अस्पतालबाट सरसफाइ सप्ताहको शुभारम्भ गरिने मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए।  

सोही समयमा देशैभरिका सबै अस्पतालमा पनि सरसफाई सप्ताह  शुभारम्भ हुने र सप्ताहभरि दैनिक रूपमा सरसफाइमा सहभागी हुन आग्रह गरिएको उनले बताए।

सरसफाइ सप्ताह सञ्चालनका लागि बनाइएको मार्गदर्शनमा तोकिएका सूचक अनिवार्य पूरा गर्नुपर्ने छ। कार्यालय सरसफाइ मापन, शौचालय तथा स्वच्छता मापन, शैक्षिक संस्था र सार्वजनिकस्थलको सरसफाइ, क्यान्टिन तथा भान्साघर स्वच्छता, फोहर व्यवस्थापन मापन, सेवाग्राही अनुभव मापन, संस्थागत दिगोपन मापन सूचक कायम गरिएकाले तिनको पालना गर्न आग्रह गरिएको छ। 

प्रतिक्रिया