जनकपुरधाम , कात्तिक १६
सशस्त्र प्रहरी बल नेपालले मधेस प्रदेशका आठवटै जिल्लास्थित नेपाल–भारत दशगजा क्षेत्रमा रहेका सीमास्तम्भको पुनःनिर्माण, मर्मत सम्भार र पुनःस्थापना सुरु गरेको छ ।
आज धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपालिका–६ जटही नाका नजिक रहेको सीमास्तम्भ नं २८५÷४ बाट मर्मतसम्भार सुरु गरिएको सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबासका प्रमुख, सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपेन्द्र शाहले जानकारी दिनुभयो ।
प्रदेशका आठ जिल्लामा रहेका चार हजारभन्दा बढी स्तम्भमध्ये पहिलो चरणमा नेपाल पक्षबाट विजोर नम्बरका एक हजारभन्दा बढी सीमास्तम्भको आवश्यकतानुसार पुनःनिर्माण, मर्मतसम्भार र पुनः स्थापनाको काम गरिने शाहको भनाइ छ ।
“विसं २०७७ साउन १९ गते नेपाल सरकार मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार बनाइएको ‘सीमा क्षेत्रमा रहेका सीमास्तम्भहरुको निर्माण, मर्मतसम्भार र पुनःस्थापनासम्बन्धी मापदण्ड २०८०’ बमोजिम आजदेखि विजोर नम्बरका सीमास्तम्भको पुनःनिर्माण, मर्मत सम्भार र पुनःस्थापनाको काम सुरु भएको छ”, सशस्त्र प्रहरी नायब महानिरीक्षक शाहले भन्नुभयो, “यस कार्यले सीमाको संरक्षण हुनुका साथै सीमा क्षेत्रमा हुने विवाद, सुरक्षा चुनौती र नेपाल—भारत द्विपक्षीय हितका विषयमा पनि सूक्ष्मरुपमा अध्ययन गर्न सघाउ पुग्नेछ । यसकार्यमा स्थानीय जनप्रतिनिधिको महत्वपूर्ण सहयोग रहने छ भन्ने विश्वास लिएका छौँ ।”
त्यसैगरी भारतीय सीमा सुरक्षा बल नं ४८ बटालियनका डेपुटी कमान्डर सन्तोषकुमार निमोरियाले दुई देशका सरकारले गरेका निर्णय र समझदारीअनुसार आफूहरु सीमा सुरक्षाको संवेदनशीलताबारे गम्भीर रहेको बताउनुभयो । नेपालले बिजोर र भारतले जोर सीमास्तम्भको मर्मतसम्भार गर्ने सहमतिअनुसार आफूहरुले पनि आवश्यक कार्य अगाडि बढाउने र जसले सीमास्तम्भको मात्र नभइ दुई देशको सुरक्षा, सद्भाव र सीमासम्बन्धी प्राविधिक जटिलता समाधानका लागि पनि सहयोग पुग्ने उहाँको भनाइ थियो ।
१५ कार्तिक २०८०, बिहिबार ०२:५८ मा प्रकाशित