विश्वासको मत लिने तयारीमा सोडारी

Jhalkonepal

धनगढी, बैशाख ३१

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले जेठ ३ गते विश्वासको मत लिने तयारी गरेका छन्। 

समाजवादी सुदूरपश्चिम प्रदेश संसदीय दलका उपनेता प्रकाश रावलले विश्वासको मत लिनेबारे केन्द्रबाट निर्देशन आएको बताए। जेठ ३ गते मुख्यमन्त्रीले विश्वासको मत लिने सहमति केन्द्रमा भएको उनले बताए। जेठ ३ गते भने विश्वासको मत दिन एमाले तयार भएको नेताहरुबिच चर्चा छ। 

नेकपा माओवादी केन्द्र संघीय दलको बैठक आइतबार संघीय राजधानीमा बसेको थियो।  माओवादी मुख्यमन्त्रीले सक्दो चाँडो विश्वासको मत लिएर सरकारलाई पूर्णता दिनुपर्ने पक्षमा छ। बजेट निर्माणको तयारीमा जुट्नुपर्ने भएकाले विश्वासको मत र मन्त्रिपरिषद् विस्तारको काम चाँडै टुंग्याउनुपर्ने माओवादी संसदीय दलका उपनेता अक्कलबहादुर रावलले बताए। संसदीय दलका नेता मानबहादुर धामीको अध्यक्षतामा बसेको बैठकमा प्रदेश इन्चार्ज गिरिराजमणि पोख्रेल, सह–इन्चार्ज विना मगर र प्रदेश अध्यक्ष हरिराम चौधरी ९उत्सव० सहभागी थिए। सुदूरपश्चिम प्रदेश सरकार र संसदीय दलभित्रका विषयमा बैठकमा छलफल भएको संसदीय दलका नेता मनबहादुर धामीले बताए। 

सुदूरपश्चिम प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी भएको छैन। उनका अनुसार पहिले विश्वासको मत दिने र सरकारलाई पूर्णता दिने विषयमा बैठकमा छलफल भएको हो। बैठकमा धामीसहित सुदूरपश्चिम प्रदेशका आठ सांसद उपस्थित थिए। खगराज भट्ट र जानकीदेवी कुँवरबाहेक सबै सांसदहरू उपस्थित थिए। यसअघि खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई माओवादी संसदीय दलको नेता चयन गरिएको थियो।

यसअघि मुख्यमन्त्री सोडारीले वैशाख २० गते विश्वासको मत लिन खोजेका थिए। तर एमालेले मत दिन तयार नभएपछि दुईदुई पटक बैठक आह्वान गरिएको थियो। तर एमालेले तत्काल विश्वासको मत दिन नमानेपछि प्रदेश सभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थिगित भएको थियो ।


प्रतिक्रिया