भारतको अन्तिम खेल नेदरलैण्डसंग
खेलकुद, कार्तिक २६
विश्वकप क्रिकेटको समुह चरणको अन्तिम खेलमा भारतले आज नेदरलैण्डको सामना गर्दैछ । समुह चरणको पहिलो स्थानमा रहेको भारतले यस अघि नै सेमिफाइनलमा आफ्नो स्थान बनाई सकेको छ । सेमिफाइनलमा उच्च मनोबलका साथ न्युजिलैण्डसंग प्रतिस्पर्धा गर्नआजको खेलमा जित हात पार्दै समुह चरणको अविजित यात्रालाई निरन्तरता दिने प्रयास गर्नेछ । उच्च लयमा रहेका भारतका विराट कोहलीले समुहको अन्तिममा रहेको नेदरलैण्ड विरुद्द सतक प्रहार गरे यो उनको ५० औं सतक हुनेछ ।
सेमिफाइनलमा भारतले न्युजिलैण्डको सामना गर्नेछ । २०१९ को विश्वकपमा पनि न्युजिलैण्डले सेमिफाइनलमा भारतको यात्रा टुंग्याएको थियो । आइसीसीले आयोजना गर्ने कुनै प्रतियोगिताको नकटआउट चरणमा भारतले न्युजिलैण्डलाई पराजित गर्न सकेको छैन । दुवै देश विच अहिले सम्म आइसीसीको प्रतियोगितामा ९ पटक भएको भेटमा न्युजिलैण्डले ५ पटक जितेको छ ।
यता नेदरलैण्डले यो विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै सोचे भन्दा बढि उपलव्धी हासिल गरेको छ । एसोसिएट मान्यता देश भए पनि विश्वकप छनौटमा वेष्ट इन्डिज र जिम्बाबे जस्ता टेस्ट खेल्ने देशहरुलाई पछि पार्दे विश्वकप सम्म पुगेको नेदरलैण्डले समुह चरण दुइ जितको साथै ठुलो मन्चको राम्रो अनुभव हासिल गरेको छ ।
तालिकाको दोस्रो स्थानमा रहेको दक्षिण अफ्रिका र बंगलादेशलाई नेदरलैण्डले स्तब्ध पारेको थियो । भारतसंगको खेलमा पनि यस्तै कुनै अप्रत्यासित नतिजाको अपेक्षाका साथ उच्च मनोबल लिएर नेदरलैण्डले खेल्नेछ । आजको खेलमा जित हात पार्न सके नेदरलैण्डले अंक तालिकामा पनि दुइ स्थान उक्लिदै अर्को बर्ष पाकिस्तानमा आयोजना हुने च्याम्पियन्स ट्रफिमा स्थान बनाउनेछ । आइसीसीले च्याम्पियन्स ट्रफिमा विश्वको शिर्ष ८ स्थानमा रहने टोलीले मात्र भाग लिन पाउने तालिका बनाएको छ । नेदरलैण्ड आज विजयी भएमा अहिले ८ औं स्थानमा भएको बंगलादेशलाई धक्का लाग्नेछ । च्याम्पियन्स ट्रफिमा छनौट हुनु नेदरलैण्डको लागि अर्को ठुलो उपलव्धी हुने भएकोले पनि नेदरलैण्डले आजको खेल जित्न बल गर्नेछ ।