काठमाडौँ , चैत २१
आयरल्यान्ड वल्भ्सले एकदिवसीय सिरिजको पहिलो
खेलमा नेपाल ‘ए’ लाई २१ रनले पराजित गरेको छ ।
वल्भ्सले प्रस्तुत गरेको १ सय ५८
रनको लक्ष्य पछ्याउने क्रममा नेपाल २६ औं ओभरमा मात्र १ सय ३६ रनमा अलआउट भयो ।
नेपालको मध्यक्रमका ब्याटरले बिर्सनलायक प्रदर्शन गर्दा नेपाल ‘ए’ हारको सामना
गर्न पुगेको हो ।
नेपालले छैटौं ओभरमा ओपनर देव
खनाललाई २६ रनमा गुमाउँदा स्कोर ३५-१ को स्थितिमा थियो । उनले २२ बलमा ४ चौकासहित
२६ रन जोडे । तर त्यसपछि लगातार विकेट पतन हुँदा नेपाल ‘ए’ ५६-६ को दयनीय स्थितिमा
पुग्यो ।
अर्जुन कुमाल ९ रन जोड्दा भीम सार्की
गोल्डेन डक आउट भए । आरिफ शेख शून्य, अर्जुन साउद ४ र विनोद भण्डारी ९ रनमा आउट भए । कमल सिंह ऐरी ६ रन
जोड्दै आउट हुँदा नेपाल ७८-७ को स्थितिमा पुग्यो ।
बसिर अहमद २१ बलमा २० रन जोडेर
पेभेलियन फर्किए । साहब आलमले त्यसपछि रन गति बढाएपनि उनी २५ औं ओभरमा क्याच आउट
भए । ३४ बलमा ४ चौका र १ छक्का प्रहार गरेका उनी ३७ रन जोड्दै बाउन्ड्रीनजिक आउट
भए । अर्को ओभरमा श्याम र रिजनबीच समन्वय नहुँदा रनआउटसँगै नेपाल अलआउट भयो ।
त्यसअघि टस जितेर पहिलो ब्याटिङ
रोजेको वल्भ्स ३९ औं ओभरमा मात्र १ सय ५७ रन जोडेर अलआउट भयो । कमलले अन्तिम ३
विकेट ह्याट्रिकसहित कुल ४ विकेट लिएर आयरल्यान्डको तल्लोक्रम धराशायी पारे ।
वल्भ्सका केड कार्माइकलले सर्वाधिक ५१ रन जोडे ।