काठमाडौं, कार्तिक १४
नेपालले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२
शृङ्खलाअन्तर्गत सम्पन्न एकदिवसीय खेलमा स्कटल्याण्डलाई पाँच विकेटले पराजित गरेको
छ ।
अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा टस हारेर पहिलो
ब्याटिङ गरेको स्कटल्याण्ड ४१ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १५४ रनमा
समेटियो ।
स्कटल्याण्डलाई सस्तैमा समेट्ने
क्रममा सन्दीप लामिछानेले तीन विकेट लिए । साथै करन केसी, सोमपाल कामी, गुल्सन झाले २-२ विकेट तथा आरिफ शेखले
एक विकेट लिए । स्कटल्याण्डका लगि मार्क वाटले ३४ रन बनाए भने अन्य ब्याटरले
उल्लेखनीय रन बनाउन सकेनन् ।
स्कटल्याण्डले प्रस्तुत गरेको उक्त
लक्ष्य नेपालले २९ दशमलव पाँच ओभरमा पूरा गर्यो । नेपालको जितमा आरिफ शेखले ५१
रनको योगदान दिए । साथै कुशल भुर्तेल र गुल्शन झाले २५-२५ रन बनाए भने आसिफ शेखले
२१ रन बनाए ।
स्कटल्याण्डका लागि ब्राण्डम
म्याकुलमले २ विकेट लिए । साथै ब्राड कुरी, मार्क वाट र ज्याक जार्विसले समान १-१ विकेट लिए ।
लिग–२ अन्तर्गत त्रिकोणात्मक
शृङ्खलाको पहिलो खेलमा नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको थियो । त्यस्तै
स्कटल्याण्डले आफ्नो पहिलो खेलमै अमेरिकालाई १० विकेटले पराजित गरेको थियो ।
१३ कार्तिक २०८१, बुधबार ०६:४४ मा प्रकाशित