काठमाण्डाै । काठमाण्डाै महानगरपालिकाका मेयर बालेन शाहले शिक्षा विधेयकमा असहमति रहेको बताएका छन्। बुधबार सामाजिक सँजालमा स्ट्याटस लेख्दै मेयर बालेनले सबै भूगोलको लागि एकै किसिमको शिक्षा ऐन जारी हुँदा आफ्नो पनि असहमति रहेको बताएका छन् ।
बालेनले लेखेका छन् 'झन्डै २ लाख ५० हजार हजार विद्यार्थी र दश हजारभन्दा धेरै शिक्षक हाम्रो मातहतमा छन्, आधारभूत र माध्यमिक शिक्षा स्थानीय सरकारको एकल अधिकारको रूपमा रहेकोले विद्यालय शिक्षा ऐन बनाउने अधिकार पनि स्थानीय सरकारमा निहित रहेको छ।'
यस्तै, स्थानीय तहले आफ्नो आवश्यकता अनुसार शिक्षा नीति बनाउने अधिकार समेत रहेको उनले उल्लेख गरेका छन्। 'काठमाडौं र जुम्लाका आवश्यकता फरक छन्। सोही अनुरूप शिक्षा नीति फरक हुनुपर्छ', बालेनले भनेका छन्। ' स्थानीय तहले प्रस्तुत गर्नुपर्ने विधेयक संघीय संसदमा दर्ता गर्नु नै संविधानको बर्खिलाप हो, संघीय सरकारले संघीय शिक्षा ऐन तर्जुमा गरी राष्ट्रिय शिक्षा नीति तथा मापदण्ड बनाउनुको साटो विद्यालय शिक्षा विधेयक ल्याउनु संवैधानिक प्रावधानविपरीत रहेकोले किमार्थ स्वीकार गर्न सकिँदैन।' बालेनले भने । यस्तै, बालेनले स्थानीय सरकारले प्रयोग गरिरहेको माध्यमिक शिक्षासम्मको विधायिकी र कार्यकारी अभ्यासबारे अदालतका फैसलाबाट समेत नजिर स्थापित भइसकेको स्मरण गराउन चाहेको बताएका छन्।
यसैगरी, शिक्षा विधेयकमा असन्तुष्ट भएता पनि शिक्षकले स्कुल बन्द गरेर पठनपाठनमा अवरोध नपुर्याउन उनले अनुरोध गरेका छन्। 'शिक्षकले स्कुल बन्द गरेर पठनपाठनमा अवरोध नपुर्याउनुहोला,' उनले लेखेका छन्, 'यस्ता अवरोध पुर्याउनेलाई कानुनअनुसार कारबाही हुनेछ।'