झापा, कार्तिक ३
झापाको दमक नगरपालिका ५ सुकुम्वासी टोलबाट लागु औषध ब्राउन सुगर सहित ४ जनालाई पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोही स्थानका २४ वर्षीय समीर गजमेर, २४ वर्षीय रोशन माझी, २९ वर्षीय रोशन बुढाथोकी र ईलाम चुलाचुली गाउँपालिका ४ का २३ वर्षीय सागर लिम्बु रहेका छन् । समीर गजमेरको घरमा ब्राउन सुगरको कारोबार गरिरहेको भन्ने विशेष सूचना पाएकाे आधारमा इलाका प्रहरी कार्यालय दमक प्रहरीले उनीहरूलाई ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरूलाई इलाका प्रहरी कार्यालय दमक झापाबाट थप अनुसन्धान भइरहेको छ ।
यसैगरी
उदयपुर कटारी नगरपालिका ६ देउलीकुनाबाट अवैध गाँजा सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ घर भई हाल उदयपुर ताप्ली गाउँपालिका १ का ३२ वर्षीय गणेश बहादुर मगर र ३३ वर्षीय बिर बहादुर मगर रहेका छन् ।
आज राती साढे १ बजे इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई १९/१९ किलोग्राम गाँजा बोरामा बोकी कटारी ल्याउँदै गरेको अवस्थामा फेला पारेको थियो । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान भइरहेको छ ।