सुनसरी , असोज ५
इटहरीबाट १५ लाख रुपैयाँ भन्दा बढीको नक्कली नेपाली नोट सहित दुई जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय इटहरीमा पत्रकार सम्मेलन गर्दै पक्राउ परेका २ जना सहित नक्कली नोट सार्वजनिक गरिएको छ । पक्राउ पर्नेमा सङ्खुवासभा पांचखपन नगरपालिका ५ का विवेक राई र सङ्खुवासभा मकालु गाउँपालिका ६ बस्ने अजय राई रहेका छन् ।
उनीहरूको साथबाट एक हजार दरका १५ लाख ८७ हजार रुपैयाँको नक्कली नोट, सहित तीन थान मोबाइल बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुई जनाले काठमाडौँ बाट नक्कली नोट छपाई गरी पूर्वी बजारमा ल्याएको प्रहरीको भनाई छ । पक्राउ परेको नक्कली नोट जाँचका लागि फरेन्सीक ल्याबमा पठाइएको प्रहरीले जनाएको छ ।
इटहरी बजारमा नक्कली नोटको कारोबार भएको गोप्य सूचनाको आधारमा इटहरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिनुभयो ।
पक्राउ परेकाको बयानको आधारमा प्रहरीले अर्का एक जनालाई आज शुक्रवार बिहान काठमाण्डौबाट पक्राउ गरेको समेत जनाएको छ ।
४ असोज २०८०, शुक्रबार ०५:२१ मा प्रकाशित