हंगकंगलाई पराजित गर्दै नेपाल एसीसी प्रिमियर टी २० कपको सेमिफाइनलमा

Jhalkonepal


काठमाण्डौं, बैशाख ३

ओमानमा जारि एसीसी प्रिमियर टी २० कपमा समुह चरणको एक खेल बाकी छदै नेपाल सेमिफाइनलमा पुगेको छ । समुह चरणको तेस्रो खेलमा नेपालले हंगकंगलाई ८ विकेटले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । नेपालले आफ्नो अन्तिम खेल साउदी अरेवियासंग खेल्ने छ। 

टस जितेर हंगकंगलाई ब्याटिंगको निम्तो दिएको नेपालले हंगकंगलाई १८ औं ओभरमा अल आउट गरि ११४ रनमा रोक्न सफल भयो । हंगकंगका लागि अंशुमान रथले ३४ रन बनाउनु बाहेक अन्य ब्याटर नेपाली बलरका सामु निरिह सावित भए । हंगकंगका निजाकत खानले १२, जेशाख अलिले १४ र एहसान खानले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहरो अंकमा रन जोडन् सकेनन् । नेपालका लागि अविनास बोहराले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए भने ललित राजबंशीले पनि ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । यस्तै दिपेन्द्रसिंह ऐरीले मात्र ५ बलमा ६ रन खर्चेर २ विकेट लिए । करण केसीले पनि नेपालका लागि १ विकेट लिए । 

११५ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको नेपालले आक्रमक ब्याटिंग गर्दै १३ औ ओभरको दोस्रो बलमा ११७ रन बनायो । लक्ष्य प्राप्त गर्ने क्रममा नेपालका दुइ जना ब्याटर मात्र आउट भए । कुशल भुर्तेलले १९ बलमा ३२ रन बनाए भने आसिफ सेखले १८ बलमा ४० रन बनाए । यस्तै कप्ता रोहितकुमार पौडेलले २० बलमा नटआउट २५ र संदिप जोराले १७ बलमा नटआउट १९ रन बनाएर टिमलाई जित सम्म पुगाए । हंगकंगका हासिम मुर्तजा र एहसान खाले १,१ विकेट लिए 

जितसंगै नेपाल समुह विजेता बन्ने पक्का भएको छ । नेपालको ३ खेलमा ६ अंक भएको छ भने समुहका अन्य सबै टोलीको २ अंक मात्र छ । साउदी अरेविया रन रेटको आधारमा समुहको दोस्रो स्थानमा र कतार तेस्रो स्थानमा रहेको छ । 

समुह ए को विजेताको रुपमा नेपालले सेमिफाइनलमा समुह वीको उपविजेता संंग खेल्ने छ ।  


प्रतिक्रिया