कोशी , मङ्सिर १३
देशै भरी अहिले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान जारी छ । १६ दिने अभियानको सुरुवात नेपालमा वि सं २०५४ सालदेखि भएको पाइन्छ तथापि नेपाल सरकारको मन्त्रीपरिषद्ले भने २०७५ सालमा आएर मात्र लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई सामाजिक सचेतना सहित प्रत्येक वर्ष सबै स्थानीय पालिका, प्रदेश तथा सङ्घमा सञ्चालन गर्ने निर्णय गरेको थियो । केही वर्षदेखि यो अभियान देशै भरी जारी छ ।
यस अवधिमा विविध महिला विरुद्ध हुने हिंसाका सवालमा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन हुँदै आएका पाइन्छ । तर पनि समाजमा महिला हिंसाका घटना भने भइरहेका पाइन्छ । सचेतनाका कायक्रमले पछिल्लो समय हिंसा सहेर बस्नुहुँदैन भन्ने चेतनामा भने वृद्धि भएको सामाजिक अभियान्ताहरु बताउँछन । तर समाजमा लैङ्गिकका आधारमा हुने हिंसाका घटनामा कमी भने आउन नसकेको उनीहरूको भनाइ छ । पहिला पनि घटना हुन्थे तर बाहिर आउदैनथिए अहिले पनि घटना हुन्छन् केही बाहिर आउन थालेका छन् जुन बाहिर आयो त्यो सबैले थाहापाउछन रेकर्डमा बस्छ तर बाहिर नआएका पनि थुप्रै घटनामा महिला प्रताडित हुनुपरेको सुनसरीकी सामाजिक अभियन्ता सहजादी प्रवीण बताउँछिन् ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइरहँदा कोशी प्रदेशमा ३ वर्षको अवधिमा ३ हजार १ सय ४२ वटा लैङ्गिक हिंसाका मुद्दा दर्ता भएका छन् भने ३ हजार ५० जना पक्राउ परेकाछन । कोशी प्रदेशमा दर्ता भएका त्रिवर्षीय घटनाक्रमलाई हेर्दा २०७७।०७८ देखि२०७९।०८० सम्म जबरजस्ती करणीका १ हजार ६ सय ७१ वटा मुद्दा दर्ता भएका थिए भने १ हजार ५ सय ७ जना पक्राउ परेका थिए यसै गरी करणी उद्योग का ४ सय २४ वटा मुद्दा दर्ता भएका थिए भने ३ सय ७० जना पक्राउ परेका थिए ,अप्राकृतिक मैथुन का १९ वटा घटना दर्ता भएकामा १९ जना नै पक्राउ परेका थिए , यस्तै बाल यौन दुराचार र दुरुपयोग का २ सय ७० वटा घटना दर्ता भएकोमा २ सय ३८ जना पक्राउ परेका थिए , मानव वेचचिखन तथा ओसारपसारका ५४ वटा घटना दर्ता भएकोमा ८१ जना पक्राउ परेका थिए ।
यसै गरी अपहरणका घटनाका ३३ वटा घटनामा ३१ जना पक्राउ परेका थिए , जातीय छुवाछुतका ११ वटा घटना दर्ता भएको मा १६ जना पक्राउ परेका थिए । बहुविवाहका ४सय ३२ वटा घटना दर्ता भएको मा ६ सय २४ जना पक्राउ परेका थिए । बालविवाहका ३३ वटा घटना दर्ता भएको मा ५२ जना पक्राउ परेका थिए । यस्तै बोक्सीको आरोपका ११ वटा मुद्दा दर्ता भएकोमा १६ जना पक्राउ परेका थिए । यस्तै कर्तव्य ज्यानका १ सय ६३ वटा घटना दर्ता भएको मा १सय ८९ जना पक्राउ परेका थिए । यसै गरी गर्भपतनका घटनाका २२ वटा मुद्दा दर्ता भएको मा १५ जना पक्राउ परेका थिए ।
यस्तै चालु आर्थिक वर्षको २०८०।०८१को कार्तिक सम्मको ४ महिनाको अवधिमा ३ सय २८ वटा लैङ्गिक हिंसा विरुद्ध मुद्दा दर्ता भकाएछन् । यो सँगै ३ वर्षको घरेलु हिंसाको विवरण मा ३ हजार ७ सय २३ वटा निवेदन परेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । यसै गरी चालु आर्थिक वर्षको ४ महिनाको अवधिमा ६ सय ३५ वटा धरेलुहिंसामा निवेदन पेस भकाएछन् ।
नेपालको संविधानको धारा ३८ को उपधारा ३ ले महिलाविरुद्ध यौनजन्य वा अन्य कुनै प्रकारको विभेद र पीडालाई दण्डनीय मानेको छ । घरेलु हिंसा ऐन, २०६६ को दफा १७ मा पीडकलाई २५ हजार रुपैयाँसम्म जरिवाना र ६ महिनासम्म कैद वा दुवै सजाय गर्ने प्रावधान छ । सार्वजनिक पदमा बसेका तथा पटके अभियुक्तलाई थप सजाय समेत तोएिको छ ।
१२ मङ्सिर २०८०, बुधबार ०२:१८ मा प्रकाशित