सुभेष सिनाल
काठमाण्डौं, जेठ २५
आइसीसी टी–२० विश्वकप क्रिकेटमा एसोसिएट तथा आयोजक राष्ट्र अमेरिकासँग पाकिस्तान सुपर ओभरमा स्तब्ध भएको छ। समूह ए मा अमेरिकाले भने लगातार दोस्रो जित निकालेको छ। पहिलो खेलमा क्यानडालाई पारजित गरेको अमेरिकाले दोस्रो खेलमा पाकिस्तानलाई पराजित गर्न सफल भयो।
टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा सात विकेट गुमाएर १५९ रन बनाएको थियो। कप्तान बाबर आजमले सर्वाधिक ४४ रन बनाएका थिए। जवाफमा अमेरिकाको टोलीले पनि २० ओभरमा तीन विकेट गुमाएर १५९ रन बनाउन सक्यो। अमेरिकाका कप्तान मोनांक पटेलले सर्वाधिक ५० रन बनाए। कुनै बेला अमेरिकी टोली रन पछ्याउने क्रममा अगाडि थियो र टोलीले सजिलै जित्ने देखिएको थियो। अमेरिकाले १६ ओभरमा तीन विकेट गुमाएर १२६ रन बनाएको थियो भने २४ बलमा ३४ रन आवश्यक थियो।
सुपर ओभरमा पहिले ब्याटिङ गरेको अमेरिकाले १८ रन बनाएको थियो। जवाफमा पाकिस्तानले ६ बलमा १३ रन मात्र बनाउन सकेन। मोनाङ्क खेलको प्लेयर अफ दि म्याच घोषित भए।
यो जितसँगै अमेरिकी टोली दुई जित र चार अंकसहित समूह ‘ए’ को शीर्ष स्थानमा पुगेको छ। योसँगै भारत एक खेलपछि २ अंक जोडेर दोस्रो स्थानमा छ। पाकिस्तानको अर्को खेल जुन ९ मा भारतसँग हुनेछ। अमेरिकाको टोलीले अब जुन १२ मा भारतको सामना गर्नेछ