विराटनगर , कात्तिक १५
विराटनगरबाट श्रोत नखुलेको रकम सहित एक बालक पक्राउ परेका छन् । विराटनगर महानगरपालिका वडा नम्बर ६ बाट स्रोत नखुलेको रकम सहित १६ वर्षीय वालक पक्राउ परेका हुन । प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूहबाट परिचालन भएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा विराटनगर–६ शनि मन्दिरबाट १६ वर्षीय वालकले बोकेको कालो झोलामा अवैध रुपमा बोकी ल्याउँदै गरेको स्रोत नखुलेको नेपाली रुपैयाँ नगद २१ लाख ८७ हजार सहित पक्राउ गरेको जनाएकाे छ । स्रोत नखुलेको रकम नेपाली रुपैयाँ एक हजार दरको १६८७ थान र पाँच सय दरको १००० थान सहित पक्राउ परेका उनको साथबाट बरामद गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
प्रहरीले बलराम केसरीको नाममा रहेको कुमारी बैङ्क लिमिटेडको चेक बुक थान–१, रञ्जित कुमार साहको नाममा रहेको एनआईसी एसिया बैँकको चेकमा उमेश कुमार भगतको नाममा ८६ हजार ८ काटिएको चेक थान–१, ग्लोबल आईएमई बैक लिमिटेडमा विभिन्न मितिमा १६ लाख ६९ हजार ५ सय रुपैयाँ जम्मा गरेको रसिद ४ थान र उनले प्रयोग गरेको प्रदेश १–०२–०४३ प ६२४१ नम्बरको पल्सर मोटरसाइकल समेत बरामद गरेको जनाएको छ। स्रोत नखुलेको रकम सहित पक्राउ परेका बालकमाथि जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको छ ।
१४ कार्तिक २०८०, बुधबार ०८:४२ मा प्रकाशित