काभ्रेपलाञ्चोक, जेठ २५ : जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले ११ जनाको नक्कली नागरिकता रद्द गरेको छ । कर्मचारीको मिलेमतोमा विभिन्न मितिमा जारी ११ जनाको नक्कली नागरिकता रद्द गरेको कार्यालयले जनाएको छ ।
तत्कालीन समयमा कार्यालयका अधिकृतद्वय झपेन्द्रराज खरेल र अधिकृत भूपेन्द्र पाण्डेय तथा नायब सुब्बा रामचन्द्र अर्याल भएका बेला जारी गरिएका ११ थान नागरिकता रद्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार रद्द गरिएका सबै नागरिकता एउटै वर्ष जारी भएको पाइएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार उक्त नक्कली नागरिकता विभिन्न ठेगानाका चिरञ्जीवी दुलाल, श्याम भण्डारी, लिलापन्थ भण्डारी, श्रीराम न्यौपाने, निमा तामाङ, पासाङ तामाङ, गोविन्द भट्टराई, रञ्जिता थापा, राजु गुरुङ, सीता पापाने र तेन्जिङ सोनाम तामाङ रहेका छन् ।
सहायक प्रजिअ पौडेलका अनुसार जारी भएका सबै नागरिकताको कागजात कार्यालयमा छैन । उहाँले तिनै कर्मचारीबाट अन्यलाई पनि नक्कली नागरिकता प्रदान गरेको अध्ययनबाट देखिएकाले थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो । विशेष गरी विसं २०७३ / २०७४ मा वितरण गरिएका नागरिकतामा समस्या देखिएको उहाँको भनाइ छ ।