नामिविया विरुद्ध नेदरलैण्ड्स ७ विकेटले विजयी : नेपाल अंक तालिकाको शिर्षमा

Jhalkonepal

सुभेष सिनाल

काठमाण्डौं, फागुन ७

आइसीसी विश्वकप लिग २, अन्तरगतको खेलमा नेदरलैण्ड्सले नामिवियालाई ७ विकेटले पराजित गरेको छ । नामिवियाले दिएको १२४ रनको लक्ष्य नेदरलैण्ड्सले २८ औ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो । नेदरलैण्ड्सका ओपनर माइकल लेभिटले ५७ रन जोडेर टिमको जित सुनिश्चित गरे । यस्तै मैक्सउडले २८ र वासदे लिडले २१ रन बनाए । नामिवियाका ग्रेहार्ड इरुमस बाहेक अन्य बलरले विकेट लिन सकेनन् । इरुमसले ३ विकेट लिए । 

यस अघि टस हारेर पहिले ब्याटिंग गरेको नामिविया १२३ रनमा अल आउट भएको थियो । नेदरलैण्ड्सले आर्यन दत्तको उत्कृष्ट बलिंगमा नामिवियालाई कम स्कोरमा रोकेको हो । आर्यनले ९ ओभरमा ३४ रन खर्चेर ६ विकेट लिए । नामिवियायाका जेजे स्मिथले सबैभन्दा बढि २६ रन बनाए । रुविन ट्रप्पलेनले २० र जेनग्रिनले १९ रन बनाउनु बाहेक अन्य ब्याटरले रन बनाउन सकेनन् । नेदरलैण्ड्सका कायल केलिनले २ तथा भेनडेर मार्वे र मेक्सउडले १,१ विकेट लिए । 

यो संगै लिग २ को यो सिरिजको ६ खेलम मध्ये ३ खेल सकिएको छ । जसमा तिनै देशले २,२ अंक हासिल गरेका छन । नेटरनरेटका आधारमा नेपाल शिर्ष स्थानमा छ भने नामिविया दोस्रो र नेदरलैण्ड्स तेस्रो स्थानमा छन । 

त्रिवि मैदानमा यसपटक भएका तिनै वटा खेलमा पहिलो फिल्डिंग गर्ने टोलीले जित हासिल गरेको छ । यस सिरिजका सबै खेल लो स्कोरींग भएका छन  । यस सिरिजमा पहिले ब्याटिंग गर्दै अहिले सम्म सबैभन्दा वढि १३७ रन नेदरलैण्ड्सले बनाएको छ । भने सबैभन्दा कम स्कोर नामिवियाले १२३ रन बनाउन सकेको छ । 

लिग २ अन्तरगत अव पर्सी बुधवार नेपाल र नामिवियाका विच खेल हुनेछ । 


प्रतिक्रिया