६ वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा तीन जना पक्राउ

Jhalkonepal

काठमाडाैं , साउन १७

सुनसरीको दुहवीबाट ६ वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा  तीन जनालाई पक्राउ  परेका छन । मंगलबार दुहवीबाट हराएकी बालिकालाई हिजाे  बिहान  विराटनगरबाट उद्दार गरेको सुनसरी प्रहरी प्रवक्ता नवीन कृष्ण भण्डारीले बताउनुभयाे । अपहरणामा संलग्न भएको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–६ का ५० वर्षीय सञ्जय पासवान, विराटनगर–१० मा सञ्जयका आफन्त ५० वर्षीय कलानन्द पासवान र ४० वर्षीया सरिता पासवानलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार सञ्जयले बालिकाको अपहरण गरी कलानन्द र सरिताको डेरामा ल्याएर राखेका थिए ।  मंगलबार अपहरणपछि बालिकाको मामालाई फोन गरेर सञ्जयले दिदी (बालिकाको ठूलीआमा)लाई बैदेशिक राेजगारमा नजान र फिर्ता बोलाउन भनेका थिए । फिर्ता नबोलाए बालिका अरुलाई नै दिने भन्दै धम्की दिएका थिए ।

पक्राउ परेकाविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा चलाउने प्रहरीले बताएको छ ।

प्रतिक्रिया