श्रीलङ्का टापुमा शिविर ,स्थानियले लिए स्वास्थ्य लाभ

Jhalkonepal
 सुनसरी , पुस ४ 

सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नम्बर ६ श्रीलङ्का टापुकी १९ वर्षकी खुश्बु राजवंशी पहिलो पटक आमा बन्दै छिन् । तर नौ महिनाको गर्भवती उनले अहिले सम्म गर्भको बच्चाको स्वास्थ्य अवस्था बारे जाँच गराएकी छैनन्। । उनलाई र उनका परिवार लाई यो जाँच आवश्यक जस्तो नलागेर नजँचाएको उनी बताउँछीन । उनकै जेठानीले तेस्रो बच्चा घरमै जन्माएको देखेकी खुश्बु आफु पनि बच्चा घरमै जन्माउने योजनामा थिइन । स्वास्थ्य सचेतनाका लागि श्रीलङ्का टापुका बासिन्दालाई मध्यनजर गरेर बसेको स्वास्थ्य शिविरमा भेटिएकी राजवंशीले शिविरमा निशुल्क औषधि र जाँच पाइने कुरा सुनेर एक पटक बुझने मनसायले शिविरमा आएको बताइन । तर शिविरमा उनलाई गर्भ जाँचको अवसर मात्रै मिलेन उनी र उनको बच्चाको यो अवस्थामा  हुनुपर्ने तौल निकै कम भएकाे र पौष्टिक खानपानमा ध्यान दिन डाक्टरहरूले सुझाव दिए  ।

शिविरबाट उनी सेनेटरी प्याड र केही आइरन क्याल्सियम पनि साथमा लिएर आफू सुत्केरी हुन अब अस्पताल नै जाने कुरामा श्रीमान् तथा परिवार लाई समेत बुझाउने भन्दै  घर फर्किइन ।
खुश्बु त प्रतिनिधि पात्र मात्रै हुन शिविरमै आएका तेस्रो चौथो बच्चा जन्माउने तयारीमा रहेका धेरै महिला पनि पहिलो पटक स्वास्थ्य जाँच गराइरहेका थिए । 


नेपाल  प्रहरी श्रीमती सङ्घको आयोजनामा र जिल्ला प्रहरी कार्यालय सुनसरी, वराहक्षेत्र नगरपालिका ,हरिनगर गाउँपालिका र कोशी गाउँपालिकाको सह आयोजना तथा कोशी प्रदेश प्रहरी अस्पताल सुनसरी,जिल्ला अस्पताल इनरुवा र विराट मेडिकल कलेज टिचिङ हस्पिटल विराटनगर को सहयोगमा शिविर सञ्चालन भएको हो । शिविरमा  नेपाल प्रहरी श्रीमती सङ्घका अध्यक्ष लक्ष्मी कुँवर , कोशी प्रदेशका सांसद षडानन्द मण्डल , प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोला लगाएतको उपस्थिति  रहेको थियो ।


शिविरमा श्रीलङ्का टापु ६ र ९ नम्बर वडाका  दुई सय भन्दा बढी बासिन्दाले लाभ लिएका छन् ।  शिविरमा २१ जनाले रतदान गरेकाछन् ।शिविरमा  जेनेरल फिजिसियन, स्त्री रोग, प्रसूति जाँच तथा भिडियो एक्स-रे सेवा , हाड जोर्नी तथा नशा रोग जाँच सेवा, बाल रोग जाँच सेवा, युरोलोजिष्ट  पिसाब सम्बन्धी रोग , नि–शुल्क शल्यक्रिया तथा औषधी वितरण सहित आँखा जाँच सेवा सम्बन्धी विशेषज्ञ चिकित्सकहरूले चेक जाँच तथा परामर्श दिएका थिए।

प्रतिक्रिया