धरान , चैत्र ३
बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २४ औं संस्करणको फाइनलमा काठमाडौंको एनआरटी र जिल्ला फुटबल संघ मोरङ टिमविरुद्ध आज प्रतिस्पर्धा हुँदैछ ।
धरान रंगशालामा हुने फाइनल प्रतिस्पर्धात्मक हुने दुवै टिमको दाबी छ । फाइनलअघि शुक्रबार भएको प्रिम्याच कन्फ्रेन्समा दुवै टिमका कप्तानले उपाधि जित्ने दाबी गरे । दुवै कप्तानले एकले अर्कोलाई कमजोर नठानेको बताए ।
पहिलो पटक फाइनल पुगेको मोरङ नयाँ च्याम्पियन बनेर इतिहास रच्ने
दाउमा रहेको कप्तान अशोक खवासले बताए । यसअघि १० औं संस्करणको उपाधि जितेको एनआरटी १६ वर्षअघिको इतिहास दोहोर्याउन
सक्षम रहेको कप्तान पूजन होनाको दाबी थियो ।
अधिकांश ‘ए’ डिभिजन क्लबका अनुभवी खेलाडी समेट्नुका साथै राम्रो
तालमेल भएकाले च्याम्पियन बन्नेमा ढुक्क रहेको उपाधि दाबेदार मोरङका प्रशिक्षक
राजु रानामगर बताउँछन् । उनले भने, ‘एनआरटी राम्रो र बलियो टिम भए पनि हामीले विभागीय
टिमलाई पराजित गरिसकेकाले उच्च मनोबल बोकेर मैदान उत्रन्छौं, त्यसले नतिजा हाम्रो पक्षमा पार्नेछौं ।’
मोरङका कप्तान अशोक खवासले अघिल्ला खेलको कमीकमजोरी सुधारेर
प्रदर्शन गर्ने र च्याम्पियन बनेरै छाड्ने बताए । इटहरी गोल्डकपमा
लगातार दुई संस्करण जित्ने टिमका अधिकांश खेलाडी रहेकाले आफूहरूको मनोबल रहेको
उनको भनाइ थियो ।
मोरङले सेमिफाइनलमा आयोजक धरान फुटबल क्लबलाई पेनाल्टी शुटआउटमा
५–४ ले पराजित गरेको हो । टोलीले क्वाटरफाइनलमा नेपाल पुलिस क्लबलाई ३–० ले रोकेको थियो । एनआरटी गत संस्करणको
उपविजेता काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई पराजित गर्दै मोरङसँगको उपाधि भिडन्त
पक्का गरेको हो । विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार जित्नेछन् । उत्कृष्ट खेलाडीले १
लाख, सर्वाधिक गोलकर्ताले ३५ हजार र विधागत उत्कृष्टले
जनही २५ हजार रुपैयाँ पाउनेछन् ।