काठमाडौँ, असोज १०
नेपाली सेनाले सगरमाथासहित १० हिमालबाट एक सय आठ टन फोहर सङ्कलन गरिएको जनाएको छ ।
नेपालको पर्यटन प्रवर्द्धन र पर्यटनको मुख्य आधार हिमाल सफाइ अभियानको जिम्मेवारी पाएको नेपाली सेनाले चार वर्षको अवधिमा उक्त फोहर सङकलन गरेको हो । विश्व पर्यटन दिवसको अवसरमा ‘साथसाथै’ आज आयोजना गरेको राष्ट्रिय पर्यटन सम्मेलनमा हिमाल सरसफाइ अभियानबारे प्रस्तुतीकरण गर्दै नेपाल सेनाको हिमाल सरसफाइ अभियानका निर्देशकसमेत रहनुभएका सहायक रथी सुन्दरकुमार पाण्डेले सगरमाथासहितका १० हिमालबाट एक सय आठ टन फोहर सङ्कलन गरिएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “सन् २०१९ देखि सुरु भएको हिमाल सफाइ अभियानअन्तर्गत सगरमाथासहित १० वटा हिमालबाट एक सय आठ टन फोहर सङ्कलन गरेर व्यवस्थापन गरिएको छ । सन् २०२३ मा सगरमाथा, अन्नपूर्ण, बरुणछे र लोत्सेबाट ३५ टन फोहर सङ्कलन गरिएको छ ।”
‘भावी पुस्ताका लागि हिमाल सफा राखौँ’ भन्ने मूल नारासहित सुरु भएको हिमाल सफाइ अभियानलाई अझै प्रभावकारी बनाउनुपर्ने उहाँले बताउनुभयो । उहाँले सफा हिमाल अभियानमा हिमाली क्षेत्रमा बसोबास गर्नेले गरेको सहयोगको प्रशंसा गनुभयो ।
९ असोज २०८०, बुधबार ०८:४१ मा प्रकाशित