धनगढी, माघ १९
अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदै छ । प्रतियोगितामा ८ वटा टोली सहभागि छन । सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा डीसीए धनगढी, फ्रेण्ड्स यूथ क्लब डडेलधुरा, घोडाघोडी–११ सुख्खड र बोष्टन क्रिकेट झापा तथा समूह ‘बी’मा सीवाईसी अत्तरिया, क्रिकेट एक्सिलेन्स सेन्टर काठमाडौं, न्यु होराईजन बुटवल र दशरथ चन्द एकेडेमी बैतडी रहेका छन् ।
टी–२० फम्र्याटको प्रतियोगिता हो, जसमा झन्डै २० लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। विजेता टोलीलाई १० लाख र उपविजेता टोलीलाई ५ लाख रुपैयाँ नगदसहित ट्रफी प्रदान गरिनेछ।
गो ड्रिमर्सको आयोजनामा सुरु भएको प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुनेछ। धनगढी र सुदूरपश्चिम प्रदेशको क्रिकेटका सारथि रहेका स्वर्गीय अर्जुन खड्काको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको हो।
प्रतियोगिताको सर्वोत्तम खेलाडीलाई १ लाख रुपैयाँ, उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीलाई ५०÷५० हजार दिइनेछ। प्रत्येक खेलको म्यान अफ द म्याचलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।
अर्जुन ट्रफी प्रतियोगिता धनगढीका क्रिकेट प्रेमी अर्जुन खड्काको सम्झनामा आयोजना गरिएको हो । स्वर्गीय खड्काले सुदूरपश्चिम क्रिकेटको विकासमा महत्त्वपूर्ण भूमिका खेलेका थिए । उनले धेरै नेपाली क्रिकेटर उत्पादन गर्न योगदान पु¥याएका थिए
आज प्रतियोगिताको उद्घाटन खेलमा डीसीए धनगढी र फेण्ड्स क्लब डडेल्धुरा खेल्दैछन् ।
डीसीए धनगढीबाट नेपाली क्रिकेट टोलीका सदस्य ललित राजवंशी, लोकेश बम, नारायण जोशी, अमित श्रेष्ठलगायत खेलाडी मैदान उत्रिने छन्।
यस्तै फेण्ड्स क्लब डडेल्धुराबाट नेपाली क्रिकेट टोलीका सदस्य कुशल भुर्तेल, सन्दीप जोरा, विनोद भण्डारी, हेमन्त धामी लगायतका खेलाडीले खेल्नेछन्। समूह ए मा रहेका दुवै टोली जितबाट प्रतियोगिताको शुरूआत गर्ने पक्षमा छन्। प्रतियोगितामा देशभरका ८ वटा क्लबका टिमहरूको सहभागिता रहेको छ।