काठमाण्डौं, बैशाख ५
आइपिएल २०२४ अन्तरगत हिजो राति भएको खेलमा राजस्थानले शानदार जित हासिल गरेको छ । कोलकत्ताले दिएको २२४ रनको लक्ष्य ८ विकेट गुमाएर पुरा गरेको राजस्थानले आइपिएलकै ठुलो रनचेज गरि जित दर्ता गरेको छ । राजस्थानको जितको नायक रहे जोस बट्लर, उनले ६० बलमा नटआउट १०५ रन बनाएर कोलकत्ताका सुनिल नारायणको १०९ रनको पारीलाई फिका पारि दिए ।
पहिलो ब्याटिंग गरेको कोलकताले सुनिल नारायणको ५६ बलमा १०९ रनको मद्दतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २२३ रन बनाएको थियो । जसमा अंगक्रिश रघुवंशीको ३० र रिंकु सिंहको २० रनको योगदान रहेको थियो । राजस्थनका आवेश खान र कुलदिप सेनले २,२ विकेट लिए भने ट्र्ेन्ट बोल्ट र यजुबेन्द्र चहलले १,१ विकेट लिए ।
२२४ रनको लक्ष्य पछ्याएको राजस्थानको शुरुवात भने खराब रहेको थियो । पहिलो विकेट २२ रनमा गुमाएको राजस्थानले लगातार विकेट गुमाए पनि अर्को तर्फबाट ओपनर जोस बटलर अन्तिम सम्म खेलिरहे । राजस्थानको लागि बटलरको १०५ रन बाहेक, रियान परागले ३४ र रोभमेन पावेलले २६ रनको योगदान गरे । कोलकत्ताका हर्षित राना, सुनिल नारायण र बरुण चक्रवर्तीले २,२ विकेट लिए भने वैभव अरोराले १ विकेट लिए ।
जितसंगै राजस्थानले १२ अंकको साथ अंक तालिकाको शिर्ष स्थानमा कायम रहेको छ भने हारका बाबजुद कोलकत्ता दोस्रो स्थानमा कायम छ ।