मोरङ, भदौ १५
मोरङमा १३ वर्षीया बालिकाले बच्चा जन्माएकी छन् । विराटनगरको एक अस्पतालमा बालिकाको नर्मल डेलिभरी भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बालिकाले बुधबार बिहान २.७ किलोग्रामको बच्चा जन्माएको प्रहरीले जनाएको छ ।
बालिका १६ बर्षिय किशोरसङको शारीरिक सम्पर्कबाट ८ महिना अघि गर्भवती बनेकी थिइन । बालिकाले पेट दुखेको बताएपछि उनका अभिभावकले चेकजाँचका लागि भदौ १२ गते मंगलबार अस्पताल भर्ना गरेका थिए । अस्पतालमा परीक्षण गराउँदा गर्भ रहेको पत्ता लागेको बताइएको छ यद्धपि यस बिषयमा अनुसन्धान भइरहेको मोरङ प्रहरी प्रवक्ता रञ्जनकुमार दाहालले बताउनुभयो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट गत पुषमा बालिकाको शारीरिक सम्पर्क भएको खुलेको छ ।
बालिकालाई गर्भवती बनाउने बालकलाई नियन्त्रणमा लिएर ‘बाल निगरानी कक्ष’मा राखी घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । बालिका र किशोर दुबैको पहिचान गोप्य राखेर प्रहरीले डीएनए परीक्षणको तयारी पनि गरेको छ । आमा तथा बच्चा दुवैको अवस्था सामान्य रहेको र अस्पतालले डिस्चार्ज दिइसकेको प्रहरीले जनाएको छ । बालिका र उनले जन्माएको शिशुलाई संरक्षण गृहमा राखिएको छ ।