भोजपुर, चैत्र १
धरानबाट भोजपुर घोरेटारतर्फ जाँदै गरेको यात्रुवाहक जिप
दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । घटनास्थलमा नै सातजनाको मृत्यु
भएको थियो भने थप एकजनाको धरानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख प्रहरी नायब
उपरीक्षक (डिएसपी) सुदीपराज
पाठकका अनुसार मृतक सबैको सनाखत भएको छ ।
मृत्यु हुनेमा इटहरी-९ का
चालक ४० वर्षीय मानबहादुर बस्नेत, भोजपुरको हतुवागढी गाउँपालिका-२ का ७० वर्षीया पर्वतमाया राई, सोही वडाका २३ वर्षीय चन्द्रप्रकाश राई,
छ महिनाकी बालिका बिसाङ चाम्लिङ राई, हतुवागढी-५ की ३२ वर्षीया राजकुमारी राई, हतुवागढी–९ का ६८ वर्षीय पदमबहादुर थापा, ४५ वर्षीया कमला
अधिकारी र हतुवागढी-५ का ४२
वर्षीय किशन राईको सनाखत भएको प्रहरी प्रमुख डिएसपी पाठकले जानकारी दिए । किशन राईको उपचारका क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा परी गम्भीर घाइते भएकालाई उद्धार गरी उपचारका लागि
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । इलाका प्रहरी
कार्यालय घोरेटारबाट सातजना
र हसनपुरबाट पाँचजना गरी १२ जना प्रहरीको टोलीलाई तत्काल घटनास्थलमा पठाएर
उद्धारको व्यवस्था मिलाइएको प्रहरी प्रमुख डिएसपी पाठकले जानकारी दिए । घाइतेको पनि विवरण लिने काम भइरहेको प्रहरीले जनाएको
छ ।