बारा कात्तिक १४
गोली प्रहारबाट हिजो मृत्यु भएका बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफको मङ्गलवार हिन्दू परम्पराअनुसार दाह संस्कार गरिएको छ ।
पसहा खोलमा उहाँको अन्तिम संस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ । यसअघि एन प्याब्सनका पदाधिकारीले संस्थाको झन्डा ओढाई सर्राफमा श्रद्धाञ्जली अर्पण गरेका थिए ।
मृतक सर्राफको श्रीमतीसहित दुई छोरा छन् । उहाँलाई श्रद्धाञ्जली अर्पण गर्न ठूलो सङ्ख्यामा शुभचिन्तकहरु कलैया उपमहानगरपालिका वडा नम्बर ६ स्थित उहाँको निवासमा पुगेको थिए ।
कलैयामा रहेको बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल सर्राफमाथि सोमबार दिउँसो करिब १ बजे अज्ञात समूहले तीन वटा गोली प्रहार हत्या गरेकाले जिल्लाबासीमा त्रासको वतावरण छाएको छ ।
कलैयास्थित मदर्शा टोलमा दुईवटा नेपाली मोटरसाईकलमा आएका चारजना अज्ञात व्यक्तिले तीन राउण्ड गोली सर्राफलाई हानेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुश काफलेले जानकारी दिनुभयो । हत्या गरिएको ठाउँ जिल्ला प्रहरी कार्यालयभन्दा पाँच मिनेटको दूरीमा पर्दछ ।
गोली लागेर सख्त घाइते सर्राफलाई कलैया प्रादेशिक अस्पताल उपचार हुन नसकेपछि थप उपचारका लागि विरगञ्जस्थित बयोधा अस्पतालमा लगिएको र उपचारका क्रममा उहाँको मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।
प्रेम सम्बन्धका कारण सर्राफको हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । यसअघि गत साउन २८ गते कलैयाको एक होटलमा सर्राफको हत्याको प्रयास गरिए पनि त्यति बेला उहाँ बाँच्न सफल भएको पक्राउ परेकाहरुले प्रहरी समक्ष बयान गरेको दिएको अनुन्धानमा खटिएका एक प्रहरीले जानकारी दिए ।
घटनामा सम्लग्न एक युवतीसहित तीन नेपाली र तीन भारतीयलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ । सो घटनामा अन्य थप दुईजनाको पनि संलग्नता हुनसक्ने प्रहरीको अनुमान छ ।
अहिले दस जनालाई नियन्त्रणमा लिएर घटनाको बारेमा सुक्षमरुपमा अनुन्धान भइरहेको प्रहरीले जनाएको छ ।
१३ कार्तिक २०८०, मङ्गलबार ०१:३३ मा प्रकाशित