कोसी प्रदेश प्रहरीको QR Code सार्वजनिक

Jhalkonepal

 विराटनगर, असोज १० 

कोसी प्रदेश प्रहरी कार्यालय बिरानगरले गुनासो व्यवस्थापनको लागि QR Code को प्रयोग सार्वजनिक गरेको छ । कोसी प्रदेश प्रहरी कार्यालय विराटनगर मा  एक कार्यक्रमको आयोजना गरी सङ्गठन प्रमुख प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले कोसी प्रदेश प्रहरीको QR Code को प्रयोग सम्बन्धी कार्यविधि २०८० सार्वजनिक गर्नु भएको हो । प्रमुख कुँवरले प्रविधिको दुरुपयोग गरी आपराधिक क्रियाकलाप बढ्दो क्रममा रहेको उल्लेख गर्दै प्रहरीलाई दक्षता अभिवृद्धि गरी प्रविधिमा अब्बल बनाई नयाँ नयाँ प्रविधि समेत भित्र्याउनु पर्ने बताउनु भयो ।
उजुरी पेटीकाको Digita संस्करणको रूपमा प्रदेश प्रहरी कार्यालय विराटनगरले QR Code प्रयोगमा ल्याएको हो ।आम सेवाग्राहीहरूको हितलाई मध्यनजर गरी प्रहरीले प्रदान गर्ने सेवामा कुनै गुनासो, पिर मार्का या कैफियत भएमा सिधै QR Code मार्फत सम्बन्धित जिल्लाका जिल्ला प्रहरी प्रमुख समक्ष सेवाग्राहीले आफ्नो भनाई राख्न वा उजुरी गर्न सक्ने छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले सञ्चालनमा ल्याएको QR Code को प्रयोग प्रभावकारी भएकोले कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले यसलाई थप परिमार्जन गरी कोसी प्रदेश अन्तरगत रहेका सम्पूर्ण प्रहरी कार्यालयले  प्रयोग गर्ने गरी कार्यान्वयनमा ल्याएको हो । 
QR Code कोसी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, विशेष सुरक्षा गण दुहबी, कोसी प्रदेश सशस्त्र प्रहरी गण विराटनगर र १४ वटै जिल्ला प्रहरी कार्यालयहरूमा  कार्यान्वयनमा ल्याएको र इलाका प्रहरी कार्यालय तथा चौकी स्तर सम्म एक महिना भित्र सर्वसाधारणको सहजै पहुँच हुने उपयुक्त स्थानमा राखी कार्यान्वयनमा ल्याई सकिने बताएको छ । 
यसैबिच 
प्रमुख प्रहरी महानिरीक्षक  कुँवरले  कोसी प्रदेश प्रहरी कार्यालय विराटनगर को निरीक्षण भ्रमणको क्रममा कानुनले दिएको अधिकारको पूर्ण प्रयोग गर्दै जनमैत्री सेवा प्रवाह गर्न निरन्तररुपमा लागि पर्न सम्पूर्ण  प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनु भएको छ ।  प्रहरी कर्मचारीहरूलाई निर्देशनको क्रममा वहाँले नागरिकको जिउ धनको सुरक्षा प्रदान गर्ने प्रहरीको प्रमुख जिम्मेवारी रहेको बताउँदै समाजमा अपराध हुन नदिन तथा भएका अपराधहरूको सफल अनुसन्धान गरी सङ्गठनको छबिलाई सदैव उच्च बनाउने कार्यका लागि सम्पूर्ण प्रहरी कर्मचारीहरूले आपसी भाइचारा, सहयोगी भावना साथ इमान्दारी पूर्वक आ आफ्नो पदिय दायित्व निर्वाह गर्नु पर्ने बताउनु भयो ।

उहाँले प्रहरी सेवाको निष्ठा र मर्यादालाई मनन गरी बद्लिँदो परिवेश तथा चुनौतीलाई सामना गर्दै आफ्नो जिम्मेवारी र उत्तरदायित्व प्रति कटिबद्ध भई निष्पक्ष रूपमा नागरिक सेवामा लाग्नु पर्ने, आफूमा निहित सिप र अनुभव तथा जिम्मेवारीलाई गुणस्तरीय रूपमा सम्पादन गर्दा नै सङ्गठनको श्रीवृद्धि हुने हुँदा सकारात्मक सोचका साथ अगाडि बढ्नु पर्ने बताउनु भयो । 

प्रतिक्रिया