जनकपुरधाम ,
फागुन २७
हजारौं सङ्ख्याका श्रद्धालु
भक्तजनहरूको सहभागिता हुने पन्ध्र दिवसीय ऐतिहासिक मिथिला माध्यमिकी परिक्रमा
आइतबारदेखि धनुषाको कौचरीबाट विधिवत सुरुआत भएको छ। नेपाल र भारतका श्रद्धालु
भक्तजनहरूको सहभागिता हुने सो परिक्रमा विभिन्न १५ स्थानमा विश्राम गरी एक सय ३३
किलोमिटर पैदलयात्रा गरिन्छ।
कौचरीको मिथिला विहारी, जनकपुरको सुन्दर सदन मन्दिरबाट किशोरीजी र रामजानकीसहित जनकपुरको
अन्य डोला हनुमानगढीमा आज जम्मा हुने मिथिला बिहारी मन्दिरका महन्त राम नरेश शरणले
जानकारी दिए।
आज सबै तीर्थालु हनुमाँनगढमा जम्मा
हुनेछन् । फागुन २८ गते बिहानै कल्याणेश्वरको लागि यात्रुहरू प्रस्थान गर्नेछन्
भने २९ गते भारतकै फुलहरस्थित गिरिजा स्थानमा पुगेर परिक्रमाका यात्रीहरूले
विश्राम गर्ने जनाइएको छ। उनका अनुसार फागुन ३० गते ऐतिहासिक स्थान महोत्तरीको
मटिहानी पुग्ने छन्।
त्यसैगरी, आगामी चैत १ गते जलेश्वरनाथ महादेवस्थानमा विश्राम गर्नेछन् भने २
गते मडै, ३ गते ध्रुवकुण्ड पुगेर विश्राम गरिने
कार्यक्रम रहेको सुन्दर सदनका महन्त नबलकिशोर दासले बताए।
चैत ४ गते कञ्चनवन पुगेर त्रेतायुगमा
राम र सीताले होली मनाएको लोक मान्यता अनुसार त्यहाँ यात्रीहरूले होली महोत्सव
मनाउने गरेको मिथिला विहारी मन्दिरका महन्त रामनरेश शरणले जानकारी दिए।
चैत ५ गते धनुषाको पर्वता अर्थात्
श्रीरेश्वरनाथ महादेव स्थानमा विश्राम गर्नेछन् भने चैत ६ गते धनुषा धाममा
धनुषमन्दिरमा पुगेर विश्राम गर्नेछन्। चैत ७ गते सतोखर, ८ गते औरही र ९ गते पुनः भारतको बिहारस्थित करुणास्थानमा विश्राम
तथा १० गते बिसौलमा पुगेर विधिवतरूपमा मध्यमा परिक्रमा समापन हुनेछ । अन्तिम दिन
जनकपुर नगरको पाँचकोसे अन्तरगृह परिक्रमा गरी समाप्त हुने जनाइएको छ।
परिक्रममा सहभागी श्रद्धालुहरू
परम्परागत बाजागाजा, झाँकी कीर्तनसहितका मौलिक पहिरनमा
सहभागी भएका छन्। उनीहरू नेपालको धनुषा र महोत्तरीमा १३ तथा भारतमा दुई गरी १५
विश्रामस्थलमा राति बास बस्नेछन्।