सुरक्षा कडाइसँगै देशभरबाट २७ जना पक्राउ, ३३ लाखभन्दा बढी नगद र हतियार बरामद

Jhalkonepal

काठमाडौं- देशभर सुरक्षामा कडाइ आएपछि नेपाली सेनाले विभिन्न ठाउँमा अपरेशन चलाउँदै २७ जनालाई नियन्त्रणमा लिएको छ। सेनाले दिएको जानकारी अनुसार भदौ २४ गते राति १० बजेदेखि भदौ २५ बिहान १० बजेसम्मको १२ घण्टाको अवधिमा पक्राउ गरिएका व्यक्तिहरू लुटपाट, आगजनी र अराजक क्रियाकलापमा संलग्न थिए।

नेपाली सेनाद्वारा जारी सूचनामा उल्लेख छ, 'विषम परिस्थितिको अनुचित फाइदा उठाउँदै देशका विभिन्न स्थानमा अराजक र हिंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो।'

काठमाडौंको गौशाला, चाबहिल र बौद्ध क्षेत्र आसपासबाट लुटपाटमा संलग्न व्यक्तिहरूबाट ३३ लाख ७० हजार रुपैयाँ नगद बरामद गरिएको सेनाले जनाएको छ। साथै सर्च अपरेसनको क्रममा काठमाडौं र पोखराबाट विभिन्न प्रकारका ३१ नाल हतियार, म्यागजिन र गोलीहरू बरामद गरिएको हो।

देशका केही स्थानमा भएका आगजनी नियन्त्रण गर्न सेनाले तीन वटा वारुणयन्त्र प्रयोग गरिरहेको जनाएको छ। नियन्त्रण प्रयास अझै जारी छ।

यस क्रममा नेपाल प्रहरीका २३ जना सुरक्षाकर्मी र ३ जना सर्वसाधारण घाइते भएका छन्। उनीहरूको सैनिक अस्पतालहरूमा उपचार भइरहेको छ।

प्रतिक्रिया