चितवन , चैत्र २
चितवन राष्ट्रिय निकुञ्जमा
आजदेखि गैँडा स्थानान्तरणको काम शुरु भएको छ । निकुञ्जको पश्चिमी क्षेत्रमा
गैँडाको सङ्ख्या बढी भएपछि त्यहाँका केही गैँडा निकुञ्जकै पूर्वी क्षेत्रमा
आन्तरिक रूपमा स्थानान्तरण गर्न लागिएको हो । केही वर्षअघि नै गैँडा स्थानान्तरण
गर्न अध्ययन गरिएको भए पनि स्थानान्तरण हुन सकेको थिएन ।
निकुञ्जले अहिले छ वटा गैँडालाई आन्तरिक स्थानान्तरण गर्ने तयारी
गरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गठन गरेको अध्ययन
टोलीको प्रतिवेदनअनुसार गैँडा स्थानान्तरण गर्न लागिएको हो । एकै ठाउँमा धेरै गैडा
हुँदा गैँडा मर्ने सम्भावना भएकाले स्थानान्तरणको आवश्यकता रहेको निकुञ्जले जनाएको
छ । आठ वर्षदेखि माथि र २० वर्षभन्दा मुनिका गैँडालाई स्थानान्तरण गरिने छ ।
पछिल्लो गणनाअनुसार नेपालमा सात सय ५२ वटा गैँडा रहेका छन् । जसमध्ये
बर्दियामा ३८ र शुक्लाफाँटामा १७ वटा गैँडा रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जमा
छ सय ९४ वटा गैँडा छन् । पर्सा राष्ट्रिय निकुञ्जमा तीन वटा गैँडा छन् ।