काठमाण्डौ , फागुन १३
आजदेखि देशका ७५ वटा जिल्लामा दादुरा–रुबेलाविरुद्धको खोप अभियान शुरु हुदैछ । भूकम्प प्रभावित दुई जिल्ला जाजरकोट र रुकुमपश्चिममा यसअघि नै खोप लगाइसकेकोले ती बाहेक ७५ वटा जिल्लामा आजदेखि आउँदो चैत ७ गतेसम्म खोप अभियान सञ्चालन हुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
अभियानमा ५७ लाख ४२ हजार ९९३ जनालाई खोप प्रदान गर्ने लक्ष्य रहेको छ । तराईका २१ जिल्ला र काठमाण्डौ उपत्यकाका तीन गरी २४ जिल्लामा ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई र बाँकी जिल्लामा नौ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई खोप लगाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
२०७९ सालको मङ्सिर ३ गतेदेखि गएको पुस १५ सम्मको तथ्याङ्क अनुसार नेपालमा एक हजार ३४९ जनामा दादुरा सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमितमध्ये एक जनाको ज्यानसमेत गएको थियो । नेपालमा बितेको ३५ वर्षदेखि दादुरा र ११ वर्षदेखि दादुरा रुबेला खोप अभियान सञ्चालन हुँदै आइरहेको छ ।
यसअघि कोरोना महामारीको बेला धेरैले नियमित खोप नलगाएका कारण विभिन्न ठाउँमा दादुरा–रुवेला फैलिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सरकारले नियमित खोप अन्तर्गत हरेक बालबालिकालाई नौ महिना र १५ महिनामा दादुरा–रुवेला विरुद्धको खोप लगाउँदै आएको छ ।