काठमाण्डौं, असार ३१
इंग्लैण्ड भ्रमणमा रहेको भारत तेस्रो टेष्टमा २२ रनले पराजित भएको छ । लर्डसमा भएको तेस्रो खेलकोे अन्तिम दिन भारत जितको नजिक पुगिसके पनि मिडिल अर्डर चल्न नसक्दा पराजित भएको हो । पहिलो पारीमा दुबै टिमले समान ३८७ रन बनाएर आफ्ना सबै विकेट गुमाएका थिए ।
दोस्रो पारिमा इंग्लैण्ड १९२ रनमा अल आउट भएपछि खेल भारतको कब्जामा आएको थियो । चौथो दिनको खेल समाप्त हुदाँ भारतले ४ विकेट गुमाएर ५८ बनाइसकेको थियो । पाचौ दिन भारतले जितको लागि १३४ रन मात्र बनाउनु पर्ने थियो । रिसब पन्त, केएल राहुल, बासिंगटन सुन्दर र रविन्द्र जडेजा जस्ता व्याटरहरुले खेल्न बाकी रहेको अवस्थामा खेल भारतले जित्ने निश्चित जस्तै देखिएको थियो । तर जडेजा बाहेक अन्य व्याटरले सम्हालिएर खेल्न नसके पछि भारतले खेल गुमायो । जडेजाले अन्त्य सम्म आउट नभएर ६१ रन जोडे । एक समयमा जसप्रित बुमराह र मोहम्मद सिराजले विकेट नगुमाए खेललाई भारतको पक्षमा पार्न कोशिष गरे । दुबैले रन बनाउन नसके पनि निकै बेल क्रिजमा जमेर भारतको आशालाई जिवित राखेका थिए । बुमराहले ५४ बल र सिराजले ३० बलको सामना गरेका थिए ।
तेस्रो टेष्टको पहिलो पारीमा भारतका केएल राहुल र इंग्लैण्डका जोय रुटले सतक प्रहार गरेका थिए । राहुलले १०० र रुटले १०४ रन जोडे पछि दुबै टोलीले पहिलो पारिमा ३८७ रन बनाएका थिए । इंग्लैण्डका बेन स्टोकलाई प्लेयर अफ दी म्याच घोषित गरिएको छ उनले दुबै पारीमा गरि ६ विकेट र ७७ रन जोडेका थिए ।
तेस्रो टेष्ट जिते पछि ५ खेलको श्रृंखलामा इंग्लैण्ड २ १ ले अगाडी पुगेको छ ।