काठमाडौं , जेठ २२
दक्षिण अफ्रिकाले आइसिसी टि-२० विश्वकप २०२४ मा विजयी सुरुवात गरेको छ । समूह डी अन्तर्गत न्यूयोर्कमा भएको खेलमा दक्षिण अफ्रिकाले श्रीलंका माथि ६ विकेटको जित दर्ता गर्दै सुखद सुरुवात गरेको हो ।
ब्याटिङका लागि केही असहज रहेको पिचमा खेलाईएको खेलमा श्रीलंकाले दिएको ७८ रनको झिनो लक्ष्य दक्षिण अफ्रिकाले १६.२ ओभरमा ४ विकेट गुमाएर भेटायो ।
जितमा दक्षिण अफ्रिकाका लागि क्विन्टन डीककले २७ बलमा २० रन बनाए ।
यस्तै हेनरीक क्लासेन २२ बल खेल्दै १९ रनमा अविजित रहे । ट्रिस्टन स्टब्सले २८
बलमा १३ रन बनाएर आउट भए । कप्तान एइडन मारक्रमले १२ रन जोडे ।
श्रीलंकाका लागि वानिन्दु हसरंगाले २ तथा दसुन शनाका र नुवान
थुसराले १-१ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको श्रीलंका १९.१ ओभरमा ७७ रनमा
समेटिएको थियो । कुशल मेण्डिसले ३० बल खेल्दै सर्वाधिक १९ रन बनाए । एन्जेलो
म्याथ्युजले १६ तथा कामिन्दु मेण्डिसले १६ रन जोडे ।
दक्षिण अफ्रिकाका एनरिक नोर्टजे एक्लैले ४ विकेट लिए । केशव महाराज
र कागिशो रबाडाले २-२ विकेट लिँदा १ विकेट ओटनिल बार्टमनको नाममा रह्यो ।
दक्षिण अफ्रिका र श्रीलंका बाहेक यस समूहमा नेपाल, नेदरल्याण्ड्स
र बंगलादेश रहेका छन् । नेपालले मंगलबार बेलुका नेदरल्याण्ड्सको सामना गर्दैछ ।