काठमाण्डाैं , फागुन ३०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तेस्रो पटक विश्वासको
मत पाएका छन्।
प्रधानमन्त्री प्रचण्डले बुधबार प्रतिनिधि सभामा प्रस्तुत गरेको
विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १५७ सांसदले समर्थन गरेका हुन् ,भने प्रस्तावको विपक्षमा ११० मत परेको छ। प्रधानमन्त्री दाहाललाई मत दिन्न
भन्नेमा १ मत परेको थियो ।
बुधबार प्रधानमन्त्रीले विश्वासको मत माग्दा प्रतिनिधिसभाका २७५
सदस्यमध्ये २६८ जनाले मतदान गरेका थिए । प्रतिनिधिसभामा प्रधानमन्त्रीले आफ्नो
पक्षमा बहुमत देखाउन कम्तीमा १३८ जनाको समर्थन जुटाउनुपर्थ्यो ।
प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० को उपधारा (२) अनुसार
विश्वासको मत लिएका हुन्। उक्त धारामा प्रधानमन्त्रीले प्रतिनिधित्व
गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस
दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव
राख्नुपर्ने प्रावधान छ ।
गत फागुन २१ गते प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससँगको
गठबन्धन तोडेपछि नेकपा (एमाले), राष्ट्रिय
स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी सहितका दलको नयाँ समीकरण बनेको थियो ।
नेपाली कांग्रेस, राष्ट्रिय
प्रजातन्त्र पार्टी, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी
पार्टीलगायतले विपक्षमा मतदान गरे ।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त गरेको यो तेस्रो पटक
हो। २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका
प्रचण्डले त्यही २६ गते विश्वासका मत लिएका थिए।
२०७९ फागुन १५ गते एमाले सरकारबाट बाहिरिएर गठबन्धन फेरबदल भयो ।
चैत ६ गते प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत लिएका थिए।