काठमाण्डौ, साउन १५
लियोनल मेस्सीले दुईवटा गोलको अवसर प्रदान गर्दै इन्टर मियामीलाई लिग्स कपको उद्घाटन खेलमा एट्लसलाई २-१ ले हराउन मद्दत गरेका छन्। मेस्सीले खेलको अन्तिम सेकेन्डमा गरेको असिस्ट निर्णायक बनेको थियो।
मेस्सी र उनका सहकर्मी जोर्डी अल्बाले मेजर लिग सकरको अल-स्टार खेल छोडेपछि एक खेलको निलम्बनमा परेका थिए। निलम्बनपछि उनको यो पहिलो खेल थियो। उनले अन्तिम मिनेटको स्टपेज टाइममा मार्सेलो विगान्टसँग तालमेल मिलाएर विजयी गोलका लागि पास उपलब्ध गराएका थिए।
यसअघि मेस्सीले नै ५८ औँ मिनेटमा टेलास्को सेगोभियाको गोलमा पनि असिस्ट गर्दै खेलको खाता खोलेको थियो।
तर, एट्लसका लागि रिभाल्डो लोजानोले ८२ औँ मिनेटमा बराबरी गोल फर्काएका थिए। विगान्टको ९६ औँ मिनेटको गोलले मियामीलाई जित दिलायो। उक्त गोललाई सुरुमा अफसाइड घोषणा गरिए पनि पछि भीएआरद्वारा गोल दिइएको थियो।
यससँगै मेस्सीको जुलाईमा असिस्टको संख्या पाँच पुगेको छ। उनले यसअघि आठ गोल गर्दै मियामीलाई लिगका ४ खेलमा जित र १ बराबरी दिलाउनुका साथै १ हारको सामना गरेका थिए। यस प्रदर्शनका लागि उनलाई मेजर लिग सकरमा महिनाको उत्कृष्ट खेला८ घोषणा गरिएको थियो।
खेलको पहिलो हाफ दुवै टोलीका लागि अवसरहरूले भरिपूर्ण थियो, तर कसैले पनि गोल गर्न सकेनन्। मियामीका गोलकिपर रोक्को रिओस नोभोले पहिलो हाफमा तीन बचाउ गरे । लुइस सुआरेजले पहिलो हाफको अन्तिम प्रहारमा बललाई क्रसबारमा हानेका थिए।
यो खेलमा अर्जेन्टिनाका मिडफिल्डर रोड्रिगो डे पलले इन्टर मियामीबाट डेब्यु गरे। मेस्सीका राष्ट्रिय टोलीका सहकर्मी डे पलले गत हप्ता मात्र क्लबसँग आधिकारिक रूपमा सम्झौता गरेका थिए।