काठमाडौँ, चैत २२
मधेशी, थारू र जनजातिका मुद्दामा राजनीति गर्दै आएका ७ राजनीतिक दलले ‘संघीय लोकतान्त्रिक मोर्चा’ घोषणा गरेका छन्। मोर्चा घोषणाले तराई-मधेशकेन्द्रित राजनीतिका पुराना नेताहरू महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो र हृदयेश त्रिपाठीदेखि सीके राउत र रेशम चौधरीसम्म एकै ठाउँमा उभिएका छन्। धेरैपछि मधेशकेन्द्रित दलले मोर्चाबन्दी गरेका हुन्।
विभिन्न २६ वटा उद्देश्य र प्रतिबद्धता सार्वजनिक गर्दै बिहीबार घोषित मोर्चामा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति मोर्चा, सीके राउत नेतृत्वको जनमत पार्टी, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी, रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी र वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) सामेल छन् ।
उपेन्द्र यादव नेतृत्वको पार्टीबाट फुटेको अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) भने मोर्चामा सामेल भएको छैन । २०७२ मा संविधान जारी हुँदै गर्दा प्रदेशको सीमांकन, राज्यको सबै अंगमा समानुपातिक समावेशी प्रतिनिधित्वको सुनिश्चिततालगायतका माग राख्दै ‘संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा’ ले आन्दोलन गरेको थियो ।
त्यतिबेला मोर्चामा आबद्ध भएका प्रायः जसो दल एकीकरण भएर एउटै दलमा रूपान्तरित भएका थिए । तर पछि मधेशकेन्द्रित दल पुनः विभाजित भएर टुक्रिए । २०७९ को आमनिर्वाचनमा जनमत पनि चुनावी राजनीतिमा आएपछि मधेशकेन्द्रित दल थपिएको छ ।