काठमाडौ , फागुन २५
कोशी प्रदेश भरिका ९८ जना महिला प्रहरी पुरस्कृत भएका छ्न । प्रदेश प्रहरी कार्यालयले ११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला प्रहरीलाई पुरस्कृत गरेको हो । पुरस्कारले महिला प्रहरीको मनोबल उच्च बन्ने र उनीहरुमा उत्प्रेरण अभिवृद्धि हुने अपेक्षा गरिएको छ।महिला प्रहरीको कार्यसम्पादनलाई पुरस्कार प्रणालीमा आबद्ध गर्ने अभियान नै छ । प्रदेश प्रहरी कार्यालय विराटनगर तथा प्रदेश मातहतका विभिन्न कार्यालयमा कार्यरत रहेर महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र, अपराध अनुसन्धान, प्रहरी कार्य, प्रशासनलगायत विभिन्न शाखामा कार्यरत महिला प्रहरी पुरस्कृत भएका हुन् ।
विभागीय नीति निर्देशनको पालना गरी आफ्नो पदीय दायित्वलाई उत्कृष्ट तवरले निर्वाह गर्नेमध्ये १ जना इन्स्पेक्टर (प्रहरी निरीक्षक), ३ जना असइ (प्रहरी सहायक निरीक्षक), २ जना वरिष्ठ हवल्दार, १५ जना हवल्दार, १९ जना सहायक हवल्दार, ५६ जना जवान र २ जना कार्यालय सहयोगी गरेर ९८ जना महिला प्रहरीलाई पुरस्कृत गरिएको प्रदेश प्रहरी प्रमुख डीआईजी राजन अधिकारीले जानकारी दिनुभयो ।
डीआईजी अधिकारीले न्यून संख्यामा प्रहरी संगठनमा कार्यरत रहेका महिला प्रहरी कर्मचारीको मनोबल सदैव उच्च र उनीहरुलाई कर्तव्यप्रति वफादार बनाइ राख्न यस्ता उत्प्रेरणा अभिवृद्धि योजनाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनु भयो।