काठमाण्डौ, असोज ११
रातिदेखि देशका धेरै ठाउँमा पानी परिरहेको छ । पूर्व र
पश्चिमका केही ठाउँमा ठूलो पानी परेको छ । ठूलो पानी परेका ठाउँमा रहेका खोला र
नदीहरुमा बाढी आएको छ ।
उदयपुर, सप्तरी, सिराहाका विभिन्न
ठाउँमा ठूलो पानी परेको र थप पानी पर्न सक्ने सम्भावना रहेकोले ती क्षेत्रहरु भई
बहने खाडो खोला, बालन
नदी, कोरिय
नदी र अन्य ससाना खोलाहरूमा आकस्मिक बाढीको तथा होचो भूभागमा डुबानको जोखिम
रहेकोले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
यस्तै
कञ्चनपुरको सुन्दरपुर वर्षामापन केन्द्र आसपासको क्षेत्रमा ठूलो वर्षा भएको र थप
वर्षा हुन सक्ने सम्भावना रहेकोले ती क्षेत्रहरु भई बहने सिहाली नदी, दोदा नदी र अरु ससाना
खोलाहरूमा आकश्मिक बाढीको तथा होचो भूभागमा डुबानको जोखिम रहेकोले सतर्कता अपनाउन
महाशाखाको आग्रह छ ।
महाशाखाका
अनुसार नारायणी, कन्काई, कमला, बाग्मती, राप्ती, बबई लगायतका नदीहरुमा
आज र भोलि बाढीको जोखिम छ । पर्सि आइतवारसम्म नै ठूलो पानी पर्ने सम्भावना भएकाले
आज र भोलि पहाडी र हिमाली क्षेत्रमा रात्रिबस नचलाउन सरकारले आग्रह गरेको छ
।
विपद्
जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कमाण्ड पोष्टको बैठकले पर्सि
आइतवारसम्म ५६ वटा जिल्लामा ठूलो पानी पर्ने भएकाले पहाडी र हिमाली जिल्लामा
रात्रिबस नचलाउन आग्रह गरेको हो ।
रातको
समयमा यात्रा गर्दा पहिरो तथा बाढीको आँकलन गर्न कठिन हुने भएकोले उच्च जोखिम
रहेका हिमाली तथा पहाडी जिल्लाहरुमा बस नचलाउन भनिएको प्राधिकरणले जनाएको छ ।
यस्तै
धान नकाट्न, अत्यन्त
जरुरी अवस्थामा बाहेक यात्रा नगर्न, तराई तथा मधेश क्षेत्रमा सकेसम्म
भुइँतलामा अन्नपात नराख्न, पहिरोको
जोखिम भएका ठाउँमा र नदी किनाराका बस्तीमा उच्च सतर्कता अपनाउन, दाउरा निकाल्न तथा माछा
मार्न नदी किनारमा नजान पनि सरकारले आग्रह गरेको छ ।
बङ्गालको
खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावाका साथै त्यस क्षेत्रमा बनेको न्यून चापीय
प्रणालीको प्रभावका कारण पर्सि आइतवारसम्म मेघगर्जन र चट्याङसहित ठूलो पानी पर्ने
मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।