सुनसरी, मङ्सिर १८
रूमा रिजाल
गत भदौ १५ गते मोरङमा १३ वर्षीया बालिकाले बच्चा जन्माइन भन्ने खबर सार्वजनिक भयो । १६ वर्षीय किशोरको जबरजस्ती करणीबाट उनी गर्भवती भएकी थिइन । गर्भ ८ महिनाकाे भएपछि मात्र परिवारले थाहा पाए । ती बालिकाले जन्माएको शिशुलाई संरक्षण गृहमा राखिएको छ । कोशी प्रदेशमा रहेको दिर्घकालिन पुनर्स्थापना केन्द्रमा मात्रै १७ जना बालिका आश्रयमा बसेका छन् । जसमध्ये ७ जना आमा बनिसकेका छन् जो उनीहरू आफै बच्चा छन् । १२ बर्षकी बालिकासङ ६ महिनाको बच्च काखमा छ । यसरी बालिका आमा बनेका घटना समाजमा पछिल्लो समय बढेको अधिकारकर्मी मञ्जिता उपाध्याय बताउनुहुन्छ । मोरङका यी घटना त बालिका माथि हुने यौनजन्य हिंसाको एउटा प्रतिनिधि घटना मात्र हो । नेपाल प्रहरीको तथ्याङ्क अनुसार पछिल्लो समय १८ वर्ष मुनीका बालिका माथि हुने यौनजन्य हिंसाका घटना बढेको देखिएको छ ।
कोशी प्रदेशमा पछिल्लो तिन वर्षमा दर्ता भएका बलात्कारका १ हजार ६ सय ७१ मुद्दा मध्ये ९ सय ३१ वटा बालिका माथि करणीका छन् । आर्थिक वर्ष ७७।०७८ देखि ७९।०८० सम्मको अवधिमा दर्ता भएको करणी उद्योगका ४ सय २४ मुद्दा मा १ सय ६९ वटा बालिका माथि भएका छन् । प्रहरीको यो तथ्याङ्कले बालिका माथि यौनजन्यहिंसाकोे जोखिम उच्च रहेको देखाएको छ । यस्ता घटनामा पिडकहरू नजिकका आफन्त वा आफ्नै साथी भाई हुने गरेको प्रहरीको भनाई छ । उमेर नपुगेका बालिकाहरूलाई ललाई फकाइ, डर धम्की वा आफ्नै साथीहरूले विभिन्न प्रलोभनमा पारी बलात्कार गरेको पाइन्छ ।
बलात्कार वा यौनजन्य दुब्र्यबहारका घटनामा बालिकहरुनै बढी प्रभावित भइरहेको चालु आर्थिक वर्षको तथ्याङ्कले पनि देखाएको छ । चालु आर्थिक वर्षको ४ महिनाको अवधिमा ३ सय २८ वटा लैङ्गिक हिंसा विरुद्ध मुद्दा दर्ता भइसकेका छन् । जसमध्ये बालिकामाथि भएका यौनजन्य हिंसाका ५६ वटा मुद्दा छन् । यस्तै बाल यौन दुराचार र दुरुपयोग का २ सय ८४ वटा मुद्दा दर्ता भइसकेका छन् ।
संसार भरी अहिले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको छ । यो वर्षको अभियानको नारा महिला र बालिकामाथिको हिंसा नियन्त्रणको लागि बालिकामा एकीकृत लगानी गरौँ भन्ने तय गरिएको छ । नारामा उल्लेख गरे अनुसारको लगानी साँच्चिकै वालिकामा गर्ने हो भने बालिकामाथि हुने हिंसामा कमी आउने आवाज विभिन्न फोेरमहरुमा उठ्दै आएको छ । केही दिन पहिले विराटनगरमा आयोजित कोशी प्रदेश स्तरीय महिलावादी महिला मञ्चमा समेत प्रहरीमा दर्ता हुने मुद्दा तथा उजुरी दर मात्रै बढेको नभएर हिंसाको स्वरूपमा समेत वृद्धि भएको र यसबाट बालिकाहरू बढी प्रभावित भएको निष्कर्ष निकालिएको महिला मानव अधिकार रक्षक सञ्जाल कोशी प्रदेश संयोजक मञ्जिता उपाध्यायले बताउनुभयो ।
उहाँका अनुसार अहिले वालिका माथि हुने यौनजन्य हिंसाका घटना समाजमा बढेका छन् ।
समाजमा पहिला पनि घटना हुन्थे तर बाहिर आउँदैन थिए । तर पछिल्लो समयमा सचेतना बढेकोले घटना बाहिर आउन लागेको सुनसरीकी सामाजिक अभियन्ता सहजादी प्रवीण बताउँनुहुन्छ । घटनाहरु बाहिर आए पनि कानुन कार्यान्वयनको अवस्था कमजोर भएकोले प्रभावितहरूले सहजै न्याय पाउन सकेको छैनन् । त्यसैले पिडकहरूलाई कानुन बमोजिम कारवाहीको प्रक्रिया अगाडी बढाउन र न्याय पाउन सहज वातावरण बनाउनु पर्ने आवश्यकता रहेको सहजादीले भन्नु भयो ।
महिला तथा बालिका माथि हुने हिंसाका घटनामा उच्च संवेदनशीलताका साथ काम गरेको नेपाल प्रहरीको दाबी छ । कोशी प्रदेशमा ३ वर्षको अवधिमा दर्ता भएका ३ हजार १ सय ४२ वटा लैङ्गिक हिंसाका मुद्दामा ३ हजार ५० जना पक्राउ गरी कानुनी प्रक्रिया अगाडी बढाएको कोशी प्रदेश प्रहरीका प्रवक्ता सुनिल दाहालले बताउनु भयो । लैगिंक हिंसाका घटनामा प्रहरीका सबै युनिटलाई उच्च संवेदनशीलता अपनाइ प्रभावितलाई सेवा लिन समेत निर्देशन गरिएको वहाँले बताउनु भयो ।
कोशी प्रदेश प्रहरीले चालु आर्थिक वर्षमा मात्रै ६ सय ३५ वटा घरेलु हिंसाका मुद्दा दर्ता गरिसकेको प्रवक्ता दाहालले बताउनु भयो । महिला माथि हुने सबै किसिमका हिंसाका घटनालाई उच्च संवेदनशीलता अपनाई दर्ता गरी कानुनी प्रक्रिया अगाडी बढाएको प्रवक्ता दाहालले बताउनु भयो ।
कोशी प्रदेश प्रहरीमा जबरजस्ती करणी, करणी उद्योग बाहेक अप्राकृतिक मैथुन का १९ वटा , मानव वेचचिखन तथा ओसारपसारका ५४ वटा , अपहरणका ३३ वटा , बहुविवाहका ४ सय ३२ वटा, यस्तै बालविवाहका ३३ वटा, बोक्सीको आरोपका ११ वटा, कर्तव्य ज्यानका १ सय ६३ वटा र गर्भपतनका घटनाका २२ वटा मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
१८ मङ्सिर २०८०, मङ्गलबार १२:११ मा प्रकाशित