प्रदेश स्तरिय सुरक्षा गोष्ठी विराटनगरमा सम्पन्न् ,सुरक्षा क्षेत्रलाई अब्बल बनाउन जाेड

Jhalkonepal


बिराटनगर,जेष्ठ २८ 

 

मोरङको बिराटनगरमा  दुई दिवसीय प्रदेश स्तरिय सुरक्षा गोष्ठी सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा कोशी प्रदेश स्तरिय सुरक्षा गोष्ठी सम्पन्न भएको हो । कोशी प्रदेशका माननीय मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यता तथा गृह सचिव एक नारायण अर्यालको अध्यक्षतामा जेष्ठ २७ गतेबाट संचालन भएको उक्त गोष्ठीको  उपप्रधान तथा गृह मन्त्री रवी लामिछानेले शुभारम्भ गर्नु भएको थियो

प्रदेश स्तरिय सुरक्षा गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उप-प्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले शान्ती सुरक्षा तथा अपराध नियन्त्रणका लागी भावी रणनिती बनाएर काम गर्नु पर्ने साथै शान्ति सुरक्षा तथा बिकास निर्माण कार्यको लागि तीनवटै सरकार आपसमा समन्वय र सहकार्य गरी अगाडि बढनु पर्ने बताउनु भएको थियो । वहाँले बैदेशिक रोजगारीको प्रलोभन दिएर गरीने ठगी नियन्त्रण गर्न, भन्सार चोरी निकासी, कालोवजारी, गुण्डा गर्दी, भ्रष्टाचार नियन्त्रणका लागि दत्त चित्त भई लागि पर्न निर्देशन दिनु भएको थियो ।  वहाँले बिपद व्यवस्थापनका लागि उपलव्ध श्रोत साधन सहित तयारी अवस्थामा रहन, अपराध नियन्त्रण, सवारी दुर्घटना न्युनिकरण, आत्महत्या न्युनिकरण तथा लागुऔषध दुर्व्यसनि नियन्त्रणका लागि सरोकारवाला निकायहरुसंग समन्वय र सहकार्य गरी सचेतनामुलक कार्यक्रमहरु संचालन गर्न जोड दिनु पर्ने बताउनु भएको थियो ।

कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले समाजमा सुशासन, समृद्धि र अमन चयन कायम गर्नको लागि गोष्ठीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो । सीमा क्षेत्रमा हुने अवैध ओसारपसार, भन्सार छलि, राजस्व चुहावट जस्ता गतिविधि नियन्त्रण गर्न जिम्मवार निकायहरूले आ-आफ्नो स्थानबाट सक्रिय रूपमा दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । वर्दी लगाएको प्रहरी जहाँ उभिन्छ त्यहाँ सरकारको प्रतिनिधित्व भइरहेको हुने चर्चा गर्दै उहाँले समस्या परेको बेला नागरिक पहिला प्रहरी समक्ष पुग्ने हुँदा उनीहरूको बिनम्रताका साथ गुनासो सुनुवाई गर्नुपर्ने बताउनुभयो । लागू पदार्थ दुर्व्यसन यस प्रदेशको ठूलो समस्याकोरुपमा देखा परेकोले यसको नियन्त्रणका लागि सबैले आ-आफ्नो स्थानबाट सक्रिय भुमिका निर्वाह गर्नु पर्ने र विशेष अभियानका साथ स्कुल प्रशिक्षण तथा सचेतानमूलक कार्यक्रमहरु संचालन गर्न सरोकारवाला निकायहरुलाई आह्वान समेत गर्नु भयो ।

कार्यक्रममा गृह सचिव एकनारायण अर्यालले गोष्ठीमा भएको प्रस्तुतीकरण एवम् छलफलले एक आपसमा भएका असल अभ्यासको आदान प्रदान गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्नु हुदै बिगतमा भएका कमि कमजोरीहरुबाट पाठ समेत सिक्नु पर्ने बताउनु भयो ।  मानब बेचबिखन, लागूऔषध ओसारपसार, भन्सार छली, चोरी तस्करी जस्ता अवैधानिक गतिविधि नियन्त्रणमा सबै सरोकारवाला निकायहरूले मन, वचन र कर्मले काम गर्नु पर्नेमा जोड दिनुभयो । राष्ट्र सेवक कर्मचारीले सेवाग्राहीको समस्या, गुनासोलाई सुनुवाई गरी समयमै सामाधान गर्न र सुरक्षा चुनौतिको निराकरण र समाधानका लागि जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरूले  निर्धक्कताका साथ आफ्नो अधिकारको प्रयोग गर्न समेत उहाँले निर्देशन दिनु भयो ।

गोष्ठीमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले राज्यको आर्थिक, सामाजिक सुशासन, भौतिक पूर्वाधार र साँस्कृतिक विकास एवम् समृद्धिका निम्ति महत्वपूर्ण एवम् आधारभूत क्षेत्रको रूपमा रहेको सुरक्षा क्षेत्रलाई सक्ष्म, अब्बल र व्यावसायिक रूपमा विकसित गर्दै लैजान आवश्यक रहेको बताउनुभयो । केन्द्रीय र प्रदेश स्तरबाट प्रभावकारी एवम् कुशल समन्वय र सहकार्य गरी कोशी प्रदेशको शान्ति सुरक्षा थप मजबुत बनाई व्यावसायिक तथा सक्ष्म प्रहरी सेवा प्रवाह गराउन र कानूनको निष्पक्ष कार्यान्वयन गरी विकासमैत्री वातावरण सृजना गर्न प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नुभयो ।

 गोष्ठीमा गृह मन्त्रालयका पदाधिकारीहरू, कोशी प्रदेशका प्रदेश स्तरीय सुरक्षा निकायका प्रमुखहरू, १४ वटै जिल्लाका सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो । 

 

प्रतिक्रिया