सुभेष सिनाल
काठमाण्डौं, जेड २८
टि२० विश्वकप २०२४ अन्तरगत हिजो भएका खेलमा भारत, वेष्ट इन्डिज र स्कटलैण्डले आफ्नो खेल जितेका छन ।
हिजो विहान भएको पहिलो खेलमा वेष्ट इन्डिजले युगान्डालाई १३५ रनले पराजित गर्यो । पहिलो ब्याटिंग गर्दै वेष्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७५ रन बनाएको थियो । जवाफमा युगान्डाले १२ औ ओभरमा आफ्ना सबै विकेट गुमाएर ३९ रन मात्र जोड्न सक्यो ।
यस्तै हिजो भएको दोस्रो खेलमा भारतले चिरपरिचत प्रतिद्धन्दी पाकिस्तानलाई ६ रनले पराजित गर्यो । टस जितेर पहिले बलिंग गरेको पाकिस्तानले भारतलाई दवावमा राख्दै १९ औ ओभरमा अल आउट गर्दै ११९ रनमा रोक्यो । तर १२० रनको लक्ष्य भने पाकिस्तालने भेटाउन सकेन । पाकिस्तानले २० ओभरमा ७ विकेट गुमाएर ११३ रन मात्र बनाउन सक्यो । हार संगै पाकिस्तानको सुपर ८ मा पुग्ने सम्भावना कठिन बनेको छ । बाकी दुई खेलमा ठुलो रन अन्तरले जित हासिल गर्नुको साथै अमेरिकाले बाकी दुबै खेल हारेमा मात्र पाकिस्तान सुपर ८ मा पुग्नेछ ।
हिजो राति भएको अन्तिम खेलमा स्कटलैण्डले ओमानलाई ७ विकेटले पराजित गर्यो । टस जितेर पहिले ब्याटिंग गरेको ओमानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५० रन बनायो । जवाफमा स्कटलैण्डले १४ औ ओभरमा ३ विकेट गुमाएर १५३ रन बनाएर खेल जित्यो ।
टि२० विश्वकपमा आज साँझ सवा ८ बजे बंगलादेश र दक्षिण अफ्रिकाका विच खेल हुनेछ ।