एसिसि प्रिमियर कप : पहिलो खेलमा नेपालकाे मलेसिया माथि जित दर्ता

Jhalkonepal

काठमाण्डाैं , चैत ३०

एसिसि प्रिमियर कप २०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले मलेसिया माथि ५ विकेटले जित हात पारेको छ ।मलेसियाले दिएको १४४ रनको मध्यम लक्ष्य नेपालले १९.२ ओभरमा ५ विकेट गुमाएर भेट्टायो ।

 अन्त्यतिर गुलशन झाको विष्फोटक इनिङले नेपाललाई जित तर्फ डोहोर्यायो ।  गुलशन ७ बलमा १९ रन बनाएर अविजित रहे । यस्तै सन्दिप जोराले ९ बलमा १२ रन बनाए । 

कुशल भुर्तेल आठौ ओभरमा २४ बलमा २४ रन नै बनाएर पवनदिप सिंहको बलमा आउट भएका थिए । यस्तै अर्का ओपनर आशिफ शेख ३५ बलमा ३२ रन मात्र बनाएर विरनदिप सिंहको बलमा स्टम्प आउट भए । कुशल मल्ल पनि ७ रन मात्र बनाएर मोहम्मद वाफिकको बलमा क्याच आउट भए । कप्तान रोहित पौडेल १७ औं ओभरमा २४ बलमा २८ रन बनाएर भिरनदिपकै बलमा क्याच आउट भए । सोही ओभरमा दीपेन्द्र सिंह ऐरी पनि ११ बलमा २० रन बनाएर पेभेलियन फर्किए ।

मलेसियाका लागि भिरनदिप सिंहले ३ तथा पवनदिप सिंह र मुहम्मद वाफिकले समान १-१ विकेट लिएका थिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १४३ रन बनाएको थिए  । मलेसियाका लागि कप्तान भिरनदिप सिंहले ५५ बलमा ३ चौका र ४ छक्का सहित सर्वाधिक ६८ रनको अविजित इनिङ खेले । यस्तै शर्भिन मुनियान्डीले ३३ बलमा ३ चौका र २ छक्का सहित ४१ रन जोडे । ओपनर मुहम्मद आमिर १८ बलमा १६ रन बनाएर छैठौं ओभरमा दीपेन्द्र सिंह ऐरीले आउट गरेका थिए । दोस्रो विकेटका भिरनदिप र शर्भिन मिलेर ८२ रनको साझेदारी गरेका थिए ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४ ओभरमा १४ रन खर्चिदै २ विकेट लिए । यस्तै अविनाश बोहोराले ४ ओभरमा २८ रन खर्चिदै १ विकेट लिए । ललित राजवंशीले ४ ओभरमा २८ रन नै दिए ।

 नेपालले भोलि दोस्रो खेलमा कतारको सामना गर्नेछ ।

प्रतिक्रिया