काठमाण्डौं, बैशाख २७
आइपिएल क्रिकेट प्रतियोगितामा हिजो राति भएको खेलमा हैदराबादले लखनउलाई १० विकेटले पराजित गरेको छ । लखनउले दिएको १६६ रनको लक्ष्य हैदराबादले दशौ ओभरको चौथो बलमै पुरा गर्यो । हैदराबादका ट्रेभिस हेडले ३० बलमा नटआउट ८९ रनको आक्रमक ब्याटिंग गरे । उनले ८ चौका र ८ छक्का प्रहार गरे । यस्तै हैदराबादका अर्का ओपनर अभिषेक शर्माले २८ बलमा नटआउट ७५ रन बनाए । उनले ८ चौका र ६ छक्का प्रहार गरे ।
लखनउका कुनै पनि बलरले रन रोक्न सकेनन् । प्रति ओभर लगभग १५ रनको औषतमा उनीहरुले रन खर्चेर बलिंग गरे पछि लखनउले नराम्रो हार ब्यहोरेको हो ।
यसअघि लखनउले पहिले ब्याटिंग गर्दै २० ओभरमा ४ विकेट गुमाएर १६५ रन बनाएको थियो । लखनउका लागि आयुष बदोनीले ३० बलमा नटआउट ५५ रन बनाए । यस्तै निक्लोस पोरेनले २६ बलमा नटआउट ४८ रन बनाए । कप्तान केएल राहुलले २९ र कुर्णाल पाण्ड्याले २४ रन बनाए ।
हैदराबादका भुवनेश्वर कुमारले २ विकेट लिए भने पेट कमिन्सले १ विकेट लिए । लखनउका एकजना ब्याटर भने रनआउट भएका थिए ।
जितसंगै हैदराबाद अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ। हैदराबादले १२ खेलमा १४ अंक जोेडेको छ । लखनउ भने १२ खेलमा १२ अंकका साथ छैटौ स्थानमा छ । १२ अंक भएको चेन्नइ र दिल्ली लखनउ भन्दा माथी क्रमशः चौथो र पाचौ स्थानमा छन । ११ खेलमा १६ अंक जोडेको कोलकत्ता पहिलो र समान अंकको राजस्थान दोस्रो स्थानमा छन ।
आइपिएलमा आज पन्जाब र बैग्लुरुका विच खेल हुनेछ ।