बिराटनगर ,माघ २६
कोशी प्रदेशको पुनः नामकरण गर्न सरकार र पहिचान पक्षाधरबीच सहमति भएको छ ।
शुक्रबार भएको वार्तामा प्रदेश पुनः नामाकरण सम्बन्धमा सहमति हुने राजनीतिक वातावरण बनाउन सरकार एवम् आन्दोलनरत पक्षबाट संविधानसम्मत राजनीतिक पहल एवम् छलफल अगाडि बढाउने, आन्दोलनरत पक्षले आन्दोलनको स्वरूप परिवर्तन गरी शान्तिपूर्ण राजनीतिक गतिबिधि अगाडि बढाउने र सरकारले कुनै पनि बल प्रयोग नगर्ने सहमति वार्ता टोलीबीच भएको छ।
यस्तै पहिचानको आन्दोलनका क्रममा घाइतेहरूको उपचारको व्यवस्थापन र शहीद परिवारलाई क्षतिपूर्तिको व्यवस्था प्रदेश सरकारले गर्ने र कारगारमा रहेकालाई रिहा तथा मुद्दा लागेकाहरूको मुद्दा फिर्ताको प्रक्रिया अघि बढाउने सहमति पनि भएको छ। यस्तै अर्को वार्ता फागुन १० गते भन्दा अगाडि नै गर्ने निर्णय सहमतिमा भएको छ।
सहमति पत्रमा सरकारको तर्फबाट संयोजक भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जवेगू, पर्यटन, वन तथा वातावरण मन्त्री गणेशप्रसाद उप्रेती र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेलले हस्ताक्षर गरेका छन् ।
यता,प्रदेश नं १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिको तर्फबाट डकेन्द्रसिंह थेगिम, गोविन्दबहादुर आङबुहाङ, युवराज राई, दिवस राई, लाक्पा शेर्पा, कुमार लिङदेन मिराक, पदम लिम्बू, अर्जुन जमेली राई, जेन्टल लावती, पदम जबेगु र चन्द्रकुमार चौधरीले हस्ताक्षर गरेका छन् ।
२५ माघ २०८०, शुक्रबार ०२:११ मा प्रकाशित