सुडानमा सैन्य विमान दुर्घटना, ४६ जनाको मृत्यु

Jhalkonepal

काठमाण्डौ,फागुन १५

सुडानको खार्तुमको बाहिरी इलाकामा रहेको एक आवासीय क्षेत्रमा एउटा सैन्य यातायातको विमान मङ्गलबार दुर्घटना हुँदा कम्तीमा ४६ जनाको मृत्यु भएको खार्तुमको राज्य सञ्चालित समाचार संस्थाले  जनाएको छ। दुर्घटनामा कम्तीमा १० जना घाइते भएको जनाइएको छ।

राजधानीको उत्तरपश्चिममा रहेको ओमदुरमानमा रहेको सेनाको सबैभन्दा ठूलो सैन्य केन्द्र वादी सेडना एयर बेसनजिकै मङ्गलबार राति एन्टोनोभ विमान दुर्घटनाग्रस्त भएको हो।

सन् २०२३ को अप्रिलदेखि अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेज (आरएसएफ) सँग युद्धरत रहेको सेनाले सङ्ख्या उल्लेख नगरीकन ‘उडान भर्ने क्रममा विमान दुर्घटना हुँदा सैनिक र सर्वसाधारण दुवैको मृत्यु भएको’ जनाएको छ।

प्रत्यक्षदर्शीहरूले ठूलो विस्फोटको आवाज सुनेको र त्यस क्षेत्रमा थुप्रै घरहरू क्षतिग्रस्त भएको देखेको बताएका छन्। दुर्घटनाका कारण आसपासका क्षेत्रमा पनि विद्युत् आपूर्ति बन्द भएको छ।


प्रतिक्रिया