भोजपुर, मङ्सिर २
भोजपुरको पौवादुङ–१ श्यामशिलामा उत्पादन भएको छुर्पी बाह्य बजारमा पुग्ने गरेको छ । वैदेशिक रोजगारीबाट फर्केर दुग्ध व्यवसायमा लाग्नुभएका युवा दीपकुमार राईले उत्पादन गरेको छुर्पी बाह्य बजारमा निर्यात हुन थालेको हो ।
दूग्ध उद्योग सञ्चालन गर्दै आउनुभएका राई यो क्षेत्रमा उदाहरणीयसमेत बन्नुभएको छ । आफूले उत्पादन गरेको छुर्पी झापाका व्यापारीमार्फत युरोप, अमेकिालगायत बाह्य मुलुकका बजारमा निर्यात गर्न थालिएको उहाँले बताउनुभयो ।
“यहाँको छुर्पी बाध्य बजारमा जान थालेको अवस्था छ”, राईले भन्नुभयो, “भोजपुरका डेरीबाट पनि आवश्यक पर्दा दूध लैजाने गरेका छौँ । बाँकी रहेको दूधको छुर्पी बनाउँछु । यहाँ उत्पादन भएको छुर्पी कुकुरका लागि विदेशका विभिन्न देशमा निर्यात हुने गरेको छ ।”
आफू स्वरोगार बन्दै ग्रामीण भेगका किसानलाई सहयोग गर्ने उद्देश्यले श्यामशिलामा डेरी सञ्चालनमा ल्याएको राईको भनाइ छ । उत्पादित दूधलाई बजारसम्म पुर्याउन समस्या भोग्दै आएका किसानलाई अहिले सहज भएको छ । व्यवसायी राईले किसानको घर/घरमा पुगेर दूध सङ्कलन गरेर बिक्री पनि गर्दै आएको बताउनुभयो ।
“यो ठाउँका मानिसमा दूध बिक्री गर्ने चलन थिएन”, राईले भन्नुभयो, “मैले व्यवसाय सञ्चालन गरेपछि उनीहरूलाई सहज भएको छ । किसानको घरसम्म पुगेर दूध सङ्कलन गरेर ल्याउँछु ।” व्यवसायी राईले दैनिक दुई सय ५० देखि तीन सय लिटरसम्म दूध सङ्कलन गर्दै आउनुभएको छ । पौवादुङमा गाउँपालिकाको विभिन्न क्षेत्रसँगै अरुण गाउँपालिको माचुङ, सोर्याङलगायत ठाउँमा पुगेर दूध सङ्कलन गर्दै आएको उहाँले जानकारी दिनुभयो ।
१ मङ्सिर २०८०, शनिवार १२:३५ मा प्रकाशित