रुमा रिजाल
सुनसरी ,भदौ १८
सुनसरीको रामधुनी नगरपालिका बस्ने भुट्नी थारुको पेसा सुत्केरी स्याहार्ने हो । १८ वर्ष देखि उनले यही काम गरेर आर्थिक जोहो गर्दै आएकी छिन । भुट्नीले सुत्केरी स्याहार्ने काम गर्छिन् भनेर थाहा पाउनेहरू सुत्केरीलाई सफा गरिदिन, तेल मसाज गर्न, र शिशुको स्याहारसुसार गर्न उनकै खोजी गर्छन् । यो कामको लागि भुटनीले कुनै तालिम भने पाएकी छैनन् । आमा हजुरआमाले सुत्केरीलाई गरेको स्याहार देखेर नै उनले यो सिप सिकेकी हुन । १९ वर्ष अघि भुट्नीका श्रीमानको मृत्यु भएपछि घरको सम्पूर्ण जिम्मेवारी अचानक उनको काँधमा आयो । पुर्ख्यौली सम्पत्ति केही पनि थिएन, न त कुनै सिप, आफूले गर्न सक्ने यही एउटा काम थियो, नातागोता र समाजले हेलाँ गरे पनि आफ्नो जीविकोपार्जन गर्न यही काम सुरु गरे भुटनीले भनिन् । सुत्केरीलाई स्याहार गर्ने कामलाई फोहर काम भनेर कतिपय आफन्त र छिमेकीले मुखै अगाडी खिसी गरेको भुट्नीको तितो अनुभव छ । भोक भोकै सुतेका पल सम्झिँदै भुुट्नी भन्छिन् जब पेट भोको हुन्छ अनि मात्रै मान्छेले कामको महत्त्व बुझ्छ, त्यसैले भोको बस्नु नपरेकाहरूलाई मेरो काम फोहर र सानो लाग्छ । तर म यस्ता कुरालाई वास्ता गर्दिन । भुट्नीले नजिक नजिकै भए एक दिनमा दुई महिलालाई स्याहार्न सक्छिन् । अहिले एक महिना एउटी सुत्केरी स्याहारे बापत उनले १५ हजार सम्म पारिश्रमिक पाउँछिन् । तर उनको काम बारे धेरैले अझै थाहा पाउन सकेको छैनन् त्यसैले कुनै महिना त उनी खाली पनि बस्नु पर्छ । उनलाई अझै १० वर्ष यो काम गर्न मन छ । तर उनले गर्ने श्रमलाई नेपालको कानुनले श्रमको परिभाषा भित्र समेटे ता पनि व्यवहार मा उनको कामको सम्मान हुन सकी रहेको छैन ।उनले काम त गर्छिन् तर रोजगारदाता सँग उनको कामको कुनै सम्झौता छैन । समाजमा घरेलु श्रम कामै होइन भन्ने ठूलो भ्रम छ ।
सुनसरीकै
४० बर्षीया सीता कटुवाल घरेलु कामदार हुन । उनी घरभित्रको काममा सघाउने काम
गर्छिन् । सीताले विगत १२ वर्ष देखि घरभित्रको काम गर्दै आइरहेकी छिन । श्रीमानको
कमाइले मात्रै
छोराछोरी
पढाउन र
परिवार
धान्न नसकिने भए पछि उनले यो पेसा अङ्गालेकी हुन । सीताले यस अघि निर्माण सामग्री
बोक्ने ,प्लाइ
फ्याक्ट्रीमा प्लाइ बोक्ने र अचार उद्योगमा पनि काम गरेकी थिइन । तर त्यहाँ
हुने विभेद र असुरक्षाले उनलाइ घरको काम तिर डोर्याएयो । लेबरको रूपमा काम गर्दा
छोरी मान्छेलाई ज्याला पनि कम दिन्छन उल्टै अनेक दृष्टिले हेर्ने र असुरक्षा हुन्छ, सीता भन्छिन् । घरभित्र त
परिवारका सदस्यसङै भएजस्तो भान्सामा भाँडाकुँडा धुने ,सरसफाइ गर्ने र लुगा कपडा धुने
काम सजिलो र सुरक्षित छ,
अहिले म
दिनमा
३,४ वटा घरको काम गर्दै आएकी छु तर
मलाइ काम थोरै भएको छ म अझै गर्न सक्छु । घरेलु कामदारका रूपमा श्रम गरेर
छोराछोरीको लालन पालन गर्न ,घर परिवार चलाउन श्रीमानलाई उनले भरपुर सहयोग गरी रहेकी छिन । श्रीमान्
श्रीमती दुवैले काम गरेर उनीहरूले छोरालाई इन्जिनियरिङ र छोरीलाई बोर्डिग स्कुलमा
पढाइरहेका छन् । घर भित्रको काम भन्ने बित्तिकै सीतालाई आफन्त र छिमेकीले अर्काको
जुठो भाडा माझ्ने भनेर सुरुसुरुमा हेप्थे । तर अहिले दुःख गरेर खाएकी छे ,छोराछोरी पढाएकी छे भनेर धेरैले
सराहना पनि गरेको सीता सुनाउँछिन् । यस्तै काम विदेशमा गएर गर्दा सम्मान हुन्छ आफ्नै
गाँउठाँउमा गर्दा हेप्ने सोच मानिसहरूले बदल्नु पर्ने उनी भन्छिन् । आफूले गरेको
श्रमले आफ्ना आवश्यकता पुरा गर्न र बच्चाहरूको भविष्य बनाउन सकेकोमा सन्तुष्ट
भए पनि श्रम अनुसारको ज्याला र कामको सम्मान भने नपाएकोमा उनलाइ दुख लाग्छ । उनी
भन्छिन् समाजले घर भित्रको कामलाई काम नै नठानेका कारण हामी घरेलु श्रमिक महिलाले
कामको सम्मान र पारिश्रमिक पाउन सकिरहेका छैनौ । हामीले गर्ने कामको पनि
निश्चित पारिश्रमिक तोकिएको भए सहज हुन्थ्यो ।
श्रम ऐन २०७४ अनुसार “श्रमिक भन्नाले पारिश्रमिक लिई रोजगारदाताको लागि शारीरिक र बौद्धिक कार्य गर्ने कामदार वा कर्मचारी वा जुनसुकै पदनाम दिई काममा लगाइएको व्यक्ति सम्झनुपर्छ ।” भनेको छ । यी दुवै श्रमिक नेपालको कानुनतः श्रमिकको परिभाषा भित्र अँटाएकाछन । दुई फरक किसिमका घरेलु काम गर्ने सीता र भुट्नी उदाहरण मात्र हुन । यस्तै काम गरी आफ्नो दैनिकी चलाइरहेका सयौँ महिला अहिले सुनसरीका विभिन्न स्थानमा छन् । तर उनीहरूको कामले रोजगार हो भन्ने मान्यता भने पाएको छैन । न उनीहरूले अर्थोपार्जन गरी अर्थतन्त्रलाइ चलायमान बनाउन योगदान गरेको कुरा कतै अभिलेख हुन्छ । घरेलु श्रमिकको रूपमा महिलाहरूलाई वैदेशिक रोजगारमा पठाउने सरकारले पनि यही कामलाई विदेश पटाउँदा भने श्रमिक भनेर पटाउँछ तर देश भित्रै गरिने श्रमलाई भने श्रमिक सरह व्यवहार गर्न सकेको छैन ।
देशको सबैभन्दा ठुलो समस्या बेरोजगारी भन्दै नागरिकलाई विदेश पठाएर अर्थतन्त्र चलाउन सरकारले कदम चाले पनि देशभित्रै अर्थोपार्जन गरी श्रम गरिरहेका महिलाहरूलाई भने पहिचान गरी अभिलेख सम्म राख्न सकिरहेको छैन । सरकारले घरेलु काममा सहयोग गर्ने सीता र भुट्नी जस्ता घरेलु श्रमिक महिलाको रोजगार सुनिश्चित र सूचिकृत गर्ने बारेमा के गरेको छ भन्ने प्रश्नको जवाफ न स्थानीय सरकारका पदाधिकारी सँग छ न त अन्य सम्बन्धित निकाय सँग नै छ । सुनसरीको रामधुनि नगरपालिकाका उपप्रमुख तारा थापाले अहिले नगरमा कुनै त्यस्ता कार्यक्रम नभएको तर चाडै नगरमा भएका रोजगारी र श्रमिकको पहिचान गरी विवरण सङ्कलन गरी लगत राखिने बताइन्
देशमा सङ्घीयता लागु भएपछि अधिकार सम्पन्न सरकारको रूपमा स्थानीय सरकारहरू सञ्चालनमा छन् । स्थानीय नगरपालिका गाउँपालिकाले रोजगार शाखा नै खडा गरेका छन् । सरकारले बेरोजगारको तथ्याङ्क सङ्कलन , स्थानीय तहभित्रको रोजगारीको सम्भाव्य स्थिति विश्लेषण गरी रोजगारीको तथ्याङ्क सङ्कलन गर्ने , रोजगार नक्साङ्कन गर्ने तथा रोजगारीका अवसर को अभिलेख राख्ने काम गर्न रोजगार संयोजक तोकेको हो । तर सुनसरीका कुनै पनि स्थानीय तहले सीता र भुट्नी जस्ता महिलाले गर्ने श्रमलाई सूचीकृत गरेका छैनन् । रोजगार सृजना गर्ने भनिएको भएता पनि गाउँ समाजमा भएका रोजगारमूलक कामको पहिचानमा अहिले घरेलु श्रमका क्षेत्रमा त्यसरी काम नगरेको इनरुवा नगरपालिकाका रोजगार संयोजक आशिष् भट्टराई बताउँछ । उनका अनुसार रोजगार साखाले वैदेशिक रोजगारका लागी श्रम स्किृति ,परामर्श दिने र प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बाटो मर्मत, सडक सम्भार जस्ता कार्यक्रम भने सञ्चालन गर्ने गरेको छ ।
सुनसरीको रामधुनि नगरपालिका, इनरुवा नगरपालिका , दुहबी नगरपालिका वराहक्षेत्र नगरपालिका , इटहरी उपमहानगरपालिका र श्रमदानबाट विकासको विषयमा देशै भरि चर्चामा रहेको सुनसरीकै धरान उपमहानगरपालिका लगायतका स्थानीय तहले कसैले पनि कामदारहरूको तथ्याङ्क र सूचना राखेको पाइँदैन । श्रमिकले आफै गाँउघमा गरिरहेको घरेलु श्रमलाई श्रमका रूपमा मान्यता दिएर यसको पहिचान र सम्मान गर्न स्थानीय तहले उनीहरूले गरेको काम र श्रमिकको अभिलेखलाई प्राथमिकता दिन आवश्यक रहेको सामाजिक अभियन्ता शान्ति दनुवारले बताइन । नगरपालिका वा गाउँपालिकाले श्रम डेस्क नै खडा गरेर स्थानीय काम र बेरोजगार बीच समन्वयकारी भूमिका खेल्नुपर्ने उनकोे भनाइ छ ।
। देशकै
ठुलो र पुरानो औद्योगिक क्षेत्र भएको जिल्लामा मजदुरहरूको यकिन तथ्याङ्क भेटनै
गाह्रो छ ।
मजदुरहरूको हकहितको लागि भन्दै राजनीतिक दलैपिच्छे मजदुर सङ्गठन खुलेका छन् । तर
कुनै पनि सङ्गठनले मजदुरहरूको तथ्याङ्क सङ्कलनको लागि गरेको पहलले श्रमका मुद्दा
समेटिन सकेका छैनन् । धेरै जसो श्रमिक असङ्गठित क्षेत्रमा काम गर्ने भएकाले
उनीहरूको यकिन तथ्याङ्क आउन नसकेको ट्रेड युनियन महासङ्घ कोसी प्रदेश अध्यक्ष
किशोर धमलाले बताए । उनक अनुसार सबै खालका श्रमिकलाई योगदानमा आधारित सामाजिक
सुरक्षा कोष सँग जोड्ने प्रयास भइरहेको छ , जब सम्म स्थानीय तहले आफ्नो स्थानमा रहेका
श्रमिक र रोजगार लाइ पञ्जिकरण गर्दैन तब सम्म श्रमिककै यकिन तथ्याङ्क नहुँदा महिला
श्रमिकको बारेमा केही भन्न नसकिने उनको भनाइ छ । यो रिर्पोटिंगको क्रममा औद्योगिक
क्षेत्रका १० वटा उद्योग तथा कारखानाहरूमा समर्पक गर्दा ती उद्योग कलकारखामा काम
गर्ने मजदुर ७५ प्रतिशत महिला छन् । कलकारखाना धानेकै महिलाले भेटियो तर महिला
मजदुरहरूको विषयमा न रोजगारदाता स्पष्ट छन् न श्रमिकका सङ्गठन नै ।
सामान्यता कारखानामा काम गर्ने मानिस वयस्क उमेरका हुन्छन् । तर हामीले सोधपुछ गरेका कारखानामा पछिल्लो ७ वर्षमा एक जना पनि महिला कामदारले सुत्केरी बिदा पाएको तथ्याङ्क छैन । कतिपयले त के सम्म भने आफ्नो उद्योगमा बच्चा जन्माउने उमेरका महिला काम नै गर्दैनन् । बच्चा जन्माएर हुर्काइसकेका मात्र काममा आउँछन् ।
यो भनाइ
आफैमा विश्वास योग्य वा तथ्यमा आधारित भने छैन ।यसले गर्दा एकातिर श्रमिकको
अधिकारको हनन भइरहेको छ भने अर्को तर्फ श्रमिकहरूले आफ्नो श्रमको उचित मूल्य पाउन
सकेका छैनन् । पालिकाहरूमा रहेका रोजगार केन्द्रहरूले आफ्नो पालिकामा घरेलु काम
गर्न सक्ने श्रमिकहरूको सूची बनाउने र त्यस्तो कामदारको आवश्यकता पर्ने
सेवाग्राहीले पालिकामा सम्पर्क गरेर श्रमिकसङ सम्झौता गर्ने प्रावधान गर्न सके
श्रमिकहरूलाई काम पाउन र उचित पारिश्रमिक पाउन सहज हुनेछ । यो कार्यलाई व्यवस्थित
गर्न जनप्रतिनिधीहरुले पनि आ आफ्नो पालिकामा यस्तो पहलकदमी लिन सके, रोजगारीको समस्या समाधान गर्न
थोरै भए पनि योगदान हुने थियो । साथै स्थानीय तहरुले नै यस्तो श्रमलाई सूचीकृत गरी
श्रमिक र सेवा ग्राही बिच समन्वय गरिदिए घरेलु कामलाइ पनि देश भित्रै सम्मान गर्ने
वातावरण बन्न सक्छ ।