सङ्खुवासभा, जेठ ७
सङ्खुवासभाको सभापोखरी
गाउँपालिका–५ फाकुवामा चट्याङ लागेर ७२ वटा
भेडा मरेका छन् । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार
लामिछानेले गएकाे शनिवार रातकाे समयमा परेको चट्याङ लागेर एकै गोठका ७२ वटा भेडा
मरेका जानकारी दिनुभयो ।
सभापोखरी
गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी चापागाईंले सोमबहादुर लिम्बूको चार सय भेडामध्ये
७२ वटा भेडा मरेका जानकारी दिनुभयो । रातको समयमा हुरीसँगै असिना परेपछि रुखको फेदमा
बसेका ती भेडा एकै ठाउँ मरेको भेटिएको उहाँले बताउनुभयो । अहिले क्षतिको विवरण सङ्कलन भइरहेको
प्रहरीले जनाएको छ ।
सभापोखरी
गाउँपालिकाको माथिल्लो भेग नेपालको ताप्लेजुङ र चीनसँग जोडिएको छ । घटनास्थल
सभापोखरी गाउँपालिकाको केन्द्र बाह्रबीसे बजारदेखि एक दिनको पैदल दूरीमा पर्दछ ।
सभापोखरी गाउँपालिकाको माथिल्लो भेगमा एकल र संयुक्त गरी ६० वटाभन्दा बढी भेडीगोठ
छन् ।