विराटनगर , असोज ७
विराटनगमा उपभोक्ताले खरिद गरेको कोशी कम्पनीको सिल प्याक गरिएको कोशी ग्यासको सिलिन्डरमा ग्यास नभएको भेटिएको छ । सिल प्याक सिलिण्डरमा ग्यास नभएको भेटिएपछि कोशी कम्पनीलाई २ लाख रुपैयाँ जरिवाना परेको छ ।कम्पनीलाई उपभोक्ता ठगी ऐन अन्तर्गत कारबाही गरिएको हो ।
मोरङको बुढीगंगा गाउँपालिका – ४ नेमुवास्थित कोशी ग्यास उद्योगले बिक्रीका लागि बजारमा पठाएको सिल नतोडिएको सिलिण्डर विराटनगर – ९ ट्राफिक चोक घर भएकी अन्जना सिंहले खरिद गर्नुभएको थियो । शिलप्याक सिलेन्डरमा १४ केजी २ सय ग्राम ग्यास हुनुपर्ने हो ।
शिल प्याक ग्यास सिलेन्डरमा ग्यास नभएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले उद्योग निरीक्षण गरेको थियो । मोरङको बुढीगंगा गाउँपालिका ४ नेमुवामा उद्योग रहेको कोशी ग्यासको अनुगमन वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका निमित्त प्रमुख हितेश बस्नेत सहित जिल्ला प्रशासन कार्यालय मोरङ, गुणस्तर तथा नापतौल कार्यालय र संचारकर्मीको टोलीले निरीक्षण गरेको थियो ।
अनुगमनको क्रममा उद्योगबाट कैफियत भेटिएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका प्रमुख हितेश बस्नेतले दुई लाख रुपैयाँ जरिवाना गरेको बताउनुभयो ।
६ असोज २०८०, आईतबार ०९:०८ मा प्रकाशित